पुष ७ इलाम । छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट प्रतियोगिता इलाममा खेलकुद महोत्सवकै रुपमा सञ्चालन गरिने भएको छ । आगामी फागुन १४ गतेदेखि २२ गतेसम्म धनगढीमा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी सहभागी गराउन इलाममा पुष १० गतेदेखि छनोट प्रतियोगीता सञ्चालन गरिने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तेजबहादुर राईले बताउनुभएको छ ।
चार दिनसम्म सञ्चालन हुने छनोट प्रतियोगीतामा कराते, टेवलटेनिस, बुद्धिचाल, ब्याडमिन्टन, भलिवल बक्सिङ्ग, जुडो, तेक्वान्दो एथलेटिक्स, उसु र फूटवल प्रतियोगीता हुने बताईएको छ । जिल्लामा सञ्चालन हुने खेलमा एक हजार तीन सय बढि प्रतियोगीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगीताबाट एक सय ७३ जना क्षेत्रीय प्रतियोगीतामा सहभागी हुनेछन् । कार्यक्रम सञ्चालन गर्नको लागि २२ लाख रूपैंया खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगीता सञ्चालन गर्नको राष्ट्रिय खेलकुद परिषदले दुई लाख १५ हजार रुपैंया मात्र उपलब्ध गराउने भएको छ । बाँकी अन्य रकम, स्थानीय निकाय तथा विभिन्न संघ सस्थासँग सहयोग लिइने खेलकुद विकास समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्ला स्तरीय छनोट प्रतियोगीतापछि केहि क्षेत्रीय प्रतियोगीताका खेलहरु इलाममा नै सञ्चालन गरिने पनि खेलकुद विकास समितिले जनाएको छ ।
