सहमतिको सरकारका लागि दलहरु तयार, समयावधि बढाउन राष्ट्रपतिलाई आग्रह गरिने ।।


एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र एमाले सहमतिको सरकार बनाउन सहमत भएका छन् । सिंहदरबारमा आज बसेको बैठकमा तीन दलले सहमतिको सरकार गठनका लागि आधारहरु बन्दै गएकाले राष्ट्रपति समक्ष समयावधि बढाउनका लागि आग्रह गर्ने सहमति गरेका हुन् । सहमतिको सरकार बनाउन राष्टपतिले दिएको समय आज सकिँदैछ । माओवादी लडाकु सेना समायोजन विशेष समिति मातहत आउने प्रक्रिया सुरु भएको र संविधान लेखन प्रक्रिया पनि सुनिश्चित हुने प्रक्रिया अघि बढेकाले काङ्ग्रेस र एमालेको माग पूरा हुने भएकाले अब माओवादी नेतृत्व पनि स्वीकार्य हुने माओवादीको भनाइ छ । बैठकपछि संचारकर्मीसँग माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले माओवादी नेतृत्व स्वीकार्ने विषयमा काङ्ग्रेस, एमाले पनि वहस गर्न सकारात्मक रहेको बताउनुभयो । शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढेकाले माओवादीको नेतृत्व स्वीकार्न काङ्ग्रेस, एमालेलाई कुनै आपत्ति नहुने प्रकाशको तर्क थियो ।
यसैगरी काङ्ग्रेस नेता रामचन्द्र पौडेलले एकले अर्कोलाई निषेध नगरी छलफलमा जुट्न तीनै दल सकारात्मक रहेको बताउनुभयो । त्यस्तै एमाले नेता केपी शर्मा वलीले तीन दलमध्ये कुनै पनि दलको नेतृत्वमा सरकार बन्ने संभावना रहेको जिकीर गर्नुभयो ।


Leave a Reply