काठमाडौँ, १७ माघ । सरकारले गरेको सूचना वर्गीकरण खारेजीको माग गर्दै नेपाल प्रेस युनियनले आज सिंहदरबार दक्षिण गेट अगाडि धर्ना कार्यक्रमको आयोजना ग¥यो ।
सूचना वर्गीकरणको खारेजी, प्रेस स्वतन्त्रताको प्रत्याभूति र लोकतन्त्रलाई बलियो बनाउन सूचनाको सहज पहुँच गर्नुपर्ने माग राख्दै पत्रकारले धर्ना दिएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले लोकतन्त्रमा जनतालाई बलियो बनाउन सूचनामा सहज पहुँच हुनुपर्छ भन्दै सूचनाको वर्गीकरण अलोकतान्त्रिक काम हो भन्नुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नागरिकलाई बलियो बनाउन सूचनाको प्राप्तिलाई सहज बनाउनुपर्नेमा सरकारले उल्टै सूचना लुकाउने काम गरेर पत्रकारलाई आन्दोलित बनाउने काम गरेको आरोप लगाउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष यदुनाथ खनाल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, चिकित्सक सङ्घका डा केदारनरसिंह केसी र शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले पनि सूचनाको वर्गीकरण खारेजीको माग गर्नुभएको थियो ।