प्रेस स्वतन्त्रताप्रति एमाओवादी प्रतिबद्ध छ – अध्यक्ष दाहालUCPN (MAOIST) COMMITTED TO PRESS FREEDOM- MAOIST CHAIRMAN DAHAL

काठमाडौँ, १४ फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सञ्चारकर्मीको सुरक्षामा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज अन्तर्राष्ट्रिय मिडिया मिसन टोलीसँग आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उहाँले एमाओवादी पार्टी युद्ध कालमा पनि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा क्रियाशील रहेको बताउनुभएको उहाँका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले पत्रकारले ढुक्क भएर काम गर्ने वातावरण आफ्नो पार्टीले तयार पारेको जानकारी गराउँदै आफ्नो तर्फबाट कुनै पनि समस्या नपारेको स्पष्ट पार्नुभएको थियो ।

प्रेस संयोजक पौडेलले दिनुभएको जानकारीअनुसार बन्न लागेको नेपालको नयाँ संविधानमा प्रेस स्वतन्त्रता कुण्ठित पारिने त होइन भन्ने एक जिज्ञासामा अध्यक्ष दाहालले त्यस्तो अवस्थाको सिर्जना नहुने जानकारी गराउनुभएको थियो ।

केही समय अघि सरकारले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याएको सूचनाको वर्गीकरणसम्बन्धी व्यवस्थाबारे पनि पत्रकारले जिज्ञासा राखेका थिए ।

सो जिज्ञासामा अध्यक्ष दाहालले सरकारले गलत नियतका साथ सो विषयलाई अगाडि सारेको हो भन्ने आफूलाई नलागेको बताउनुभएको थियो ।

केही वर्ष अगाडि हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साह र अर्का पत्रकार प्रकाश ठकुरीका हत्यारामाथि कारबाही हुन नसकेको भन्दै टोलीले तत्काल कानुनी कारबाही गर्ने वातावरण तयार गर्न माग गरेको थियो ।

प्रेस संयोजक पौडेलका अनुसार वीरेन्द्र साहका हत्यारालाई एमाओवादीले कारबाही गरिसकेको अध्यक्ष दाहालले जानकारी गराउनुभएको थियो ।

पाँच दिने नेपाल भ्रमणमा आएको सो टोलीले विराटनगर र जनकपुरको स्थलगत अध्ययन गरी पत्रकारको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको नेपाल पत्रकार महासङ्घका महासचिव ओम शर्माले जानकारी दिनुभयो ।

Leave a Reply