झापा, फागुन २९ -
एमाले वरिष्ठ नेता केपी ओलीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार अपराधीलाई संरक्षण र उन्मुक्ति दिने मात्रै बनेको आरोप लगाउनुभएको छ ।
गृह जिल्ला झापामा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराधी संरक्षणमा लागेकाले बर्तमन सरकार पूर्ण रुपमा असफल हँुदै गएको दाबी गर्नुभयो । उहाँले सरकारले ३ सय ६७ जना आपराधिक प्रबृत्तिका मुद्दा फिर्ता लिएर गलत गरेको बताउनुभयो । उहाँले अपराधिलाई उन्मुक्ति नदिन आग्रह समेत गर्नुभएको छ । द्वन्द्वकालको बहानामा २०६७ साल यताका डाँका र हत्याराहरुको मुद्दा फिर्ता लिएर अपराधिलाई बचाउन प्रधानमन्त्री भट्टराई लागेको नेता ओलीको आरोप थियो । उहाँले भन्नुभयो, ‘कसैको आर्थिक र भौतिक क्षति पुराएका मान्छेको मुद्दा फिर्ता लिन अब ऐन कानून र अदालत नचाहिने भयो ।’ उहाँले आर्थिक क्षतिको बिगो भराउने भन्दापनि अपराधिलाई राजनीतिक रंग दिएर मुद्दा फिर्ता लिनु कानूनी राज्यको बर्खिलाप रहेको बताउनुभयो ।
