पुष ६ इलाम । पश्चिमी इलामको साकफारामा उच्च मावि सञ्चालनका लागि वैदेशिक रोजगारीमा गएका युवाहरूले रकम सङ्कलन गरेर पठाएका छन् । साकफारा–३ को राष्ट्रप्रेमी माविलाई उच्चमावि बनाउन सहयोग गर्ने उद्देश्यले मलेसिया, साउदी, कतार, दुबई, सिङ्गापुरलगायत क्षेत्रमा कार्यरत गाउँका युवाले रकम सङ्कलन गरेर पठाएका हुन् ।
‘हामीले माध्यमिक शिक्षा पढ्नका लागि पनि डेरा लिएर बस्नु पर्यो’, भर्खरै दुबईबाट फर्केका स्थानीय सन्तोष श्रेष्ठले भने, ‘गाउँमा जसोतसो मावि त बन्यो अझ उच्चमावि पनि सञ्चालन गर्नसके भाइबहिनीलाई सहज हुन्छ भत्रे ठानेर लागि परेका हौँ ।’
जिल्लाकै टाढा र विकट मानिएको साकफाराको दशमीमा पनि माध्यमिक तहको विद्यालय भए पनि भौगोलिक विकटका कारण तल्लो भेकका बासिन्दालाई असहज हुँदै आएको थियो । माध्यमिक तहसम्म विद्यालय सञ्चालनका लागि पनि स्थानीयवासीले चन्दा सङ्कलन गरेका थिए । २०१९ सालमा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा केही वर्ष अघिदेखि माध्यमिक तहका कक्षा सञ्चालन भएका हुन् ।
‘आउँदो शैक्षिक सत्रदेखि ११ कक्षा सञ्चालन गर्ने सोचमा छौँ’ प्रधानाध्यापक सुरेन्द्रकुमार श्रेष्ठले भने, ‘गाउँमा नै उच्चमावि चलाउनसके प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि भौगोलिक विकटताका कारण उच्चशिक्षा पढ्न नसक्नेका लागि सहज हुने थियो ।’
जिल्ला शिक्षा कार्यालयमार्फत बहुतले भवन निर्माणाधीन छ । वैदेशिक रोजगारीमा गएकाहरूले सङ्कलन गरेर पठाएको डेढलाख रुपैयाँ पनि त्यही भवन निर्माणका लागि खर्च गरिने प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । साकफारा र छिमेकी गाविस मोरङको रमितेबाट पनि विद्यार्थी आउने भएकाले यहाँ उच्चमावि आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन् । उच्च मावि अध्ययनका लागि करिब २५ किलोमिटरको खोला र चुरे पार गरेर झापाको दमक र मोरङको मधुमल्ला पुग्नुपर्ने हुन्छ ।