उपचारको पर्खाइमा ७८ वर्षीय इलामे वृद्ध

इलाम दर्पण, पुस १६, इलाम (मङ्गलबारे) । इलाम साकफारा–३ का दिलबहादुर नेवार विगत ३६ वर्षदेखि घाँटीमा मासुको डल्लो बोकेर कष्टकर जीवन जिउन बाध्य भएका छन् । 

घाँटीको पछिल्लो भागमा बढेको मासुको डल्लोले उनलाई समस्या भएको हो । ३६ वर्ष अघिदेखि देखिएको यो डल्लो क्रमशः बढ्दै गएकाले आफूलाई हिँड्डुल गर्नसमेत समस्या पर्न थालेको उनले बताए । 

सुरुमा बेवास्ता गरेकाले बर्सेनि डल्लो बढेर थेग्नै नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । ‘उतिबेला उपाचार गर्नुपर्छ भन्ने पत्तै भएन,’ ७८ वर्षे दिलबहादुरले भने– ‘अहिले आएर ठूलो समस्या भयो ।’ 

अन्धा नामको कीराले चिलेर त्यस्तो भएको उनी बताउँछन् । उमेर पाको हुँदै गएको र घरमा वृद्धा श्रीमती मात्रै भएकाले उपचारका लागि जान समस्या परेको उनले बताए । ‘छोराहरू लाखापाखा लागे,’ उनले भने– ‘घरमा बिरामी श्रीमती र स–साना नाति नातिना मात्रै भएकाले घर छोडेर हिँड्न पाउँदिन ।’ 

विकट क्षेत्रमा घर भएका नेवारको आर्थिक अवस्था पनि दयनीय छ । आफू उपचारका लागि विराटनगर, धरानलगायतका सहरमा धाए पनि प्रभावकारीरूपमा उपचार हुन नसकेको उनले बताए । 

कसैले उपचारका लागि पहल गरिदिएहुन्थ्यो भन्ने उनको चाहना छ । नदुख्ने तर डल्लोका कारण काम गर्न अप्ठ्यारो हुने, अनुहार र जीउको छाला तन्किनेजस्ता समस्या उनलाई छ । 

Leave a Reply