मङ्सिर १५ मङ्गलबारे (इलाम) । प्राङ्गारिक चियाखेती विस्तारका लागि पूर्वी कन्याममा पाइलट प्रोजेक्ट सुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति, नामसालिङ सामुदायिक विकास केन्द्र र सिमएन आयोजना इलामको सहयोगमा हालै प्रोजेक्ट सुरु गरिएको हो ।
कन्याम–२ को सूर्योदय लघु चिया उद्योगको पाँच रोपनी जग्गामा सुरु गरिएको कार्यक्रमअन्तर्गत माटो परीक्षणका लागि ल्याबमा पठाइएको कृषि विकास कार्यालय इलामले जनाएको छ ।
त्यहाँ प्राङ्गारिक चिया उत्पादनमा प्रयोग गरिने मलका लागि गड्यौलापालन गरिने भएको छ । त्यस्तै चियाको उत्पादन व्यवस्थापन र स्याहार–सुसारका बारेमा स्थानीय चिया किसानलाई तालिमसमेत प्रदान गरिएको छ ।
पाँच दिनसम्म आयोजना गरिएको तालिममा किसानद्वारा गठित सहकारीका २० जना किसानको सहभागिता थियो ।
कार्यक्रमअन्तर्गत प्रत्येक १५÷१५ दिनमा कृषि पाठशाला सञ्चालन गरिने नामसालिङ सामुदायिक विकास केन्द्रका योगेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
चिया खेतीका लागि घरेलु औषधि, मल निर्माण गर्न समेत किसानलाई सीप सिकाइनेछ । जिल्लामा नै पहिलो पटक भएको कार्यक्रमअन्तर्गत भएका क्रियाकलाप सिकाइलाई पुस्तकको रूप दिइने सिमएन परियोजनाका प्रज्वल राउतले जानकारी दिनुभयो ।
पाइलट प्राजेक्ट सफल भएमा जिल्लाका सबै क्षेत्रमा प्राङ्गारिक चिया खेतीको लागि कार्यक्रम सञ्चालन गरिने सहयोगी संस्थाहरूले जनाएका छन् ।
पूर्वी इलामका किसान अहिले रासायनिक मल र विषादीको प्रयोग बन्द गरेर जैविक चिया खेतीमा लाग्न थालेका छन् । उनीहरूले घरमा नै गड्यौला पालेर मल बनाई चियामा प्रयोग गर्ने गरेका छन् ।
स्थानीयस्तरमा पाइने स्रोतहरूबाट चियाका लागि जैविक विषादीसमेत तयार गर्दै आएका उनीहरूलाई पाइलट प्रोजेक्टले सहयोग पुग्ने जनाइएको छ ।
