ताप्लेजुङ, १८ पुस । ताप्लेजुङ जिल्लाका हिमाली क्षेत्रमा हिजोबाट बढेको चिसो र वर्षासँगै भारी हिमपात भएपछि एक दर्जनभन्दा बढी गाविसका स्थानीयवासी प्रभावित बनेका छन् ।
जिल्लाको ओलाङ्चुङ्गोला, लेलेप, पापुङ्, तापेथोक, याम्पुदिन, हाङ्देवालगायतका गाविसमा तीन फिटसम्म हिमपात भएको र अत्यधिक मात्रामा जाडो बढेपछि यी क्षेत्रका बालबालिका, वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।
उता कञ्चनजङ्घा हिमालको मुख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसा र पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथिभरामा पनि तीन फिटसम्म हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
यता पाँचथरको मेची राजमार्गअन्तर्गत पौवाभन्झ्याङ भत्रे स्थानमा बाक्लो हिमपात भएपछि सवारीसाधन आवागमनमा कठिनाइ भएको छ ।
सडकमा नै हिउँ जमेपछि सवारीसाधन चिप्लने गरेकोले यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।