लिम्बुवानको आमहड्तालले अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित



मङ्सिर २५  फिदिम  । राज्य पुनर्संरचना आयोगमा संगठनको प्रतिनिधि समावेश गराउन माग गदै सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले आजदेखि अरुणपूर्वका नौ जिल्लामा अनिश्चितकालीन आमहडताल आह्वान गरेको छ। परिषदको आमहडतालले बिहानैदेखि पूर्वका जिल्लाका जनजीवन प्रभावित बनेको छ। सुनसरी, मोरंग, झापा, धनकुटा, संखुवासभालगायतका जिल्लाहरुमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधानहरु चलेका छैनन् भने बजार, उद्योगहरु पनि ठप्प बनेको छ।

सरकार र सङ्घीय लिम्बुवान राज्यपरिषद्‌वीच २०६४ चैत ६ गते भएको पाँच बुँदे सहमतिको ३ नम्बर बुँदामा राज्य पुनर्संरचना आयोग निर्माण गर्दा सङ्घीय लिम्बुवान राज्य परिषद्को प्रतिनिधित्व गराईने उल्लेख भए पनि बुँदा कार्यान्वयन नभएको भन्दै आइतवारबाट पूर्वका नौ जिल्लामा परिषद्ले आमहड्तालको आह्वान गरेको हो ।

हड्तालको कारण संखुवासभा, धनकुटा, सुनसरी ताप्लेजुङ, पाँचथर, ईलाम, झापालगायत पूर्वका ९ जिल्लामा बिहानैदेखि सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार पसल बन्द छन् भने जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिरिने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । बन्दकर्ताहरु सडकमा बन्दको आह्वान गर्दै हिंडिरहेका छन् ।

राज्य पुनर्संरचना आयोगमा संघीय लिम्वुवान राज्य परिषदको प्रतिनिधित्व हुनुपर्ने र लिम्वुवानको ऐतिहासिक पृष्ठभूमि ,भौगोलिक क्षेत्र लगायतका आधारमा स्वायत्त राज्यहरुको संवैधानिक व्यवस्था गरिनुपर्ने माग माग गर्दै बन्दको आह्वान गर्नु परेको संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवाले जानकारी दिए।

Leave a Reply