मङ्सिर २६ इलाम । संघीय लिम्वुवान राज्य परिषद सन्जुहाङ पालुङवाद्धारा आह्वान गरिएको अरुणपूर्ब अनिश्चितकालिन आमहड्तालका कारण इलाम, ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा सुनसरी र मोरङका पूर्वी भेगको जनजीवन आज दोश्रो दिन पनि प्रभावित छ । इलामबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । शिक्षण संस्थाहरु सञ्चालन हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बजार तथा पसलहरु पनि खुलेका छैनन् ।
ताप्लेजुङवाट अरु जिल्लामा जाने सवारी साधन छुटेका छैनन् भने ताप्लेजुङका बजार, पसल, शैक्षिक संस्था, कलकारखाना समेत ठप्प छन् । राज्यपुनर्संरचना आयोगमा संघिय लिम्वुवान राज्यपरिषदको प्रतिनिधित्व हुनुपर्ने र लिम्वुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्र लगायतका आधारमा स्वायत्त राज्यहरुको संवैधानिक व्यवस्था गरिनुपर्ने माग गर्दै वन्दको आह्वान गर्नुपरेको संघिय लिम्वुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवाले जानकारी दिनुभयो । परिषदसँग गत कात्तिक ३० गते भएको वार्तामा राज्यपुनर्संरचना आयोग गठन गर्दा लिम्वुवानको पनि प्रतिनीधित्व गर्न सरकारले संझौता गरेको थियो । सम्झौता पालना नगरेको भन्दै परिषदले आम हड्तालको आह्वान गरेको हो ।
यसैबीच संंिघय लिम्बूवान राज्यपरिषदका केन्द्रीय सचिव भीम खत्रीले अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले काठमाडौमा ककस, थरुहट, चुम्लुङ्गलगायतका समूहहरुसंग सहकार्यको वातावरण तयार गरिरहनु भएको जानकारी दिनुभएको छ ।
