झलनाथलाई झापड हान्ने देवीप्रसाद रेग्मी रू.एकहजार धरौटीमा रिहा


माघ १०  सुनसरी । नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममा झापड हान्ने देवीप्रसाद रेग्मी धरौटीमा रिहा भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सोमबार १ हजार रुपैयाँ धरौटी र एक महिनाको तारेखमा रेग्मीलाई रिहा गर्न आदेश दिएका हुन्  ।
यसअघि एमाले सुनसरीले सार्वजनिक अपराधको मुद्धा दायर गरेपछि जिल्ला प्रशासन कार्यालयले १५ दिन थुनामा राख्न आदेश दिएको थियो । एमालेका पूर्व कार्यकर्ता सुनसरी भरौल १ निवासी ५२ वर्षीय रेग्मीले खनाललाई गत बिहीबार इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए ।
पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टिका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए । देशलाई विगारेकाले आफुले खनाललाई झापड हानेको बताएका थिए ।
यसै बीच नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफूलाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई माफी दिएका छन्। रेग्मी रिहा भएको अढाइ घण्टापछि प्रेस विज्ञप्ति जारी गर्दै खनालले एमाले र आफ्नोतर्फबाट समेत क्षमा गरेको बताएका हुन्।
'म उहाँको बुद्धि सही दिशामा फर्कनेछ भन्ने आशमा थिएँ', खनालको विज्ञप्तिमा भनिएको छ- 'नभन्दै आज उहाँको हस्ताक्षर सहितको प्रेस विज्ञप्ति मेरो हातमा परेको छ।' विज्ञप्तिमा रेग्मीले बुद्धि विवेक गुमाएर खनाललाई झापड लाएको उल्लेख गरिएकाले माफी दिएको उनले उल्लेख गरेका छन्।

Leave a Reply