माघ १०, काठमण्डौ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भारतसँग माओवादीको अन्तरविरोध प्रधान नभएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले जनसेनालाई सेना समायोजन विशेष समिति मातहतमा ल्याएको घोषणा गरेर संविधान बनाउन र सेना समायोजन गर्न माओवादीले नचाहेको भन्नेहरुको अभिव्यक्ति गलत प्रमाणित गरिदिएको बताउनुभयो । क्रान्तिकारी पत्रकार संघ मकवानपुरले हेटौंडामा आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले माओवादी विस्तृत शान्ति सम्झौताप्रति इमान्दार भएर लागेको तर अन्य दलहरुले त्यो कुरालाई मनन गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भित्र कुनै किसिमको समस्या नरहेको तर त्यसलाई विरोधीहरुले ठूलो रुप बनाएको जिकिर गर्नुभयो । उहाँले माओवादीको नेतृत्वमा सरकार बने जो पनि सहभागी हुन सक्ने बताउनुभयो । सेना विशेष समितिको मातहतमा गएपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने संभावना बढेको प्रचण्डको भनाइ थियो ।
