चुलाचुली (इलाम), मंसिर १८ ।
इलाम चुलाचुलीका वीरध्वज फागो र धनबहादुर सुनुवारले २०६२ सालमा एउटा सिसौको रूख ढालेर खोलामा पुल हाले । वन फँडानीको आरोपमा उनीहरूलाई मुद्दा पर्यो । 'एक/एक हजार रुपैयाँ घूस खुवाएर छुट्यौं,’ वीरध्वज भन्छन्, 'अनि बाटो र पुल बनाउने कुरा पनि छोडियो !’ त्यही ठाउँमा लडाकु शिविर गएपछि विकासको मूल फुट्न सुरु गर्यो । अब त्यो पनि गएपछि के होला ?...
माओवादी लडाकुको पहिलो डिभिजन मुख्यालय शिविरसँगै गाउँमा भित्रिएको विकास पनि बाहिरिने हो कि भन्ने चिन्ता यहाँका बासिन्दालाई छ । 'शिविर आएपछि बाटो, बत्ती र खानेपानी आयो,' स्थानीय जुनु फागो भन्छिन्, 'त्यसअघि त हाम्रो ठाउँ काला पहाड नै थियो । शिविर उठ्ता विकास पनि लिएर जान्छ कि भनेर सबै आत्तिएका छौं ।'
इलाम सदरमुकामबाट धेरै टाढाको चुलाचुलीका बासिन्दाको जनजीवन कष्टकर छ । जिल्ला इलाम भए पनि सबै कुरा झापासँगै निर्भर छ । त्यसैले चुलाचुलीवासी भन्ने गर्छन्, 'इलामले हेपेको, झापाले नभेटेको ।' शिविर स्थापनापछि भने विकासको स्वाद चाख्न पाएको यहाँका बासिन्दाको भनाइ छ ।
केर्खाबाट उत्तरतिर गाउँ जाने बाटो नभएकाले गाउँलेहरूले यो बाटो बनाउन धेरैअघिदेखि प्रयास गरेका थिए । जिविस, संसद् विकास कोष गुहार्दा पनि पार लागेन । बर्खा लागेपछि गाउँको फनफने खोलाले घेरा हाल्थ्यो । राजमार्गमा निस्कन यही खोलो १० ठाउँ तर्नुपर्ने । बाढी आएको बेला नाकाबन्दी नै हुन्थ्यो ।
स्थानीय वीरध्वज फागो र धनबहादुर सुनुवारले एउटा सिसौको रूख ढालेर अस्थायी पुल हाले । यसो गर्दा वन फँडानीको आरोपमा २०६२ सालमा रतुवामाई वृक्षरोपण आयोजनाले मुद्दा लगायो । 'एक/ एक हजार रुपैयाँ घूस खुवाएर छुट्यौं । अनि बाटो र पुल बनाउने कुरा पनि छोडियो,' फागोले भने ।
२०६३ मसिर ५ गते माओवादी लडाकुको अस्थायी शिविर बसेपछि यहाँ विकासको मूल फुट्न सुरु गर्यो । शिविरको पश्चिमपट्ट िलडाकु, स्थानीय बासिन्दा र सरकारी लगानीमा केर्खादेखि चुलाचुली सम्मको करिब ६ किलोमिटर सडक ग्राभेल भयो । मुख्यालयले यो सडकको नाम 'सहिद मार्ग' राखेको छ । त्यस्तै पूर्वी गेटमा पनि दुई किलोमिटर ग्राभेल गरिएको छ ।
बारम्बारको बिजुलीको माग सुनुवाइ भएको थिएन । शिविर बसेपछि त्यहींसम्मका लागि मात्र योजना आयो तर डिभिजन कार्यालयले ५२ वटा पोल बचाएर वडा नम्बर १ का सबै बासिन्दालाई पुग्ने गरी विद्युत् वितरण गर्यो । सहायक बि्रगेड कमान्डर नरेशका अनुसार ५२ पोल र २ हजार ५ सय मिटर तार उपलब्ध गराएकाले गाउँभरि बिजुली बलेको छ ।
अहिले चुलाचुलीमा घरैपिच्छे टिभी सेट छन् । 'शिविर उठाउँदा बिजुली पनि लग्यो भने त हामी अन्धकारमा हुन्छौं,' एक स्थानीय महिला भन्छिन् । शिविर बसेपछि गाउँमा खानेपानी योजना आयो । सतासी खोलाबाट करिब ४२ लाखको लगानीमा शिविरमा ल्याएको पानी अहिले स्थानीयले उपभोग गर्दैछन् । शिविरमा भूमिगत पानीको प्रयोग थालिएपछि यो योजना स्थानीयवासीलाई नै हस्तान्तरण गरिएको नरेशले बताए । ट्यांकीमा जम्मा गरेर वितरणको तयारी पनि भइरहेको छ ।
गाविसका पूर्वअध्यक्ष ओमनारायण खनालका अनुसार शिविर बसेपछि गाउँलेलाई भौतिक विकासमा निकै सहयोग पुगेको छ । खनालले भने, 'लडाकुलाई उठाए पनि सरकारले यहाँको विकासलाई निरन्तरता दिनुपर्छ ।' हालै मात्र ल्यान्डलाइन टेलिफोन पनि चुलाचुली पुगेको छ ।
'अब यी सबै टेलिफोन लाइन गाउँलेले प्रयोग गर्न पाउँछन्,' एक कमान्डरले भने । शिविर व्यवस्थापन कार्यालय दमकका अनुसार यहाँ साना पक्की घर १३, प्लास्टर गरेका बाँसका २२, कंक्रिट ७ र इँटाको गारो भएको एउटा हस्पिटल छ ।
'यो भवनमा अस्पताल बनाए दक्षिणी क्षेत्रका बासिन्दाका लागि वरदानै हुन्छ,' उनले भने । डिभिजन कमान्डर यामबहादुर अधिकारी यी संरचनालाई खण्डहर बनाउन नहुने बताउँछन् । 'अस्पताल, संग्रहालय वा कुनै सुरक्षा निकाय नै राखे पनि पुग्ने पूर्वाधार छ,' अधिकारीले भने ।