बलिउडका आख्यान देवआनन्दको ८८ वर्षको उमेरमा देहावसान



मुम्बै,  मङ्सिर  १८। बलिउडका रोमान्सेली नायक तथा फेसनविम्ब देवआनन्दको ८८ वर्षको उमेरमा देहावसान भएको छ र उहाप्रति भारतभरका हिन्दी भाषाका सिनेउद्योगबाट श्रद्धाञ्जलिका बाढीनै लागेको छ ।

लन्डनबाट एक समाचारमा प्रेस ट्रस्ट अफ इन्डियाले हृदयाघातबाट देवआनन्दको देहावसान भएको उल्लेख गरेको छ । बलिउडको स्वर्णयुगमा हिन्दी सिनेउद्योगलाई देवआनन्दले राजकपुर तथा दिलीपकुमारका साथमा नियन्त्रण गर्नुभएको बताइन्छ । पीटीआईका अनुसार देवआनन्द औसधोपचारका लागि लन्डनमा हुनुहुन्थ्यो ।

अमेरिकी कलाकार ग्रेगोरी पेकसँग तुलना गरिनेगरिएका देवआनन्द चलचित्रप्रतिको अथक ऊर्जा तथा गहिरो भावनात्मक सम्बन्धका कारण आख्यान बन्नुभएको थियो । उहाँले एक सयभन्दा बढी चलचित्रमा खेल्नुभएको थियो ।

उहाँले सन् १९४६ मा ‘हम एक हैँ’ बाट गुरुदत्तसँगै चलचित्रमा प्रवेश गर्नुभएको हो र पछिल्लो समयसम्म उहाँ यसै क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । यस वर्ष उहाँकै उत्पादक कम्पनीले ‘चार्जसिट’ तयार गरेको थियो ।

‘‘म मेरो चलचित्र, मेरो सिनेमा तथा मेरो काम नभई बाँच्न सक्दिन’’, देवआनन्दले बलिउडहङ्गामा डट कममा सन् २००७ मा भन्नुभएको थियो । ‘‘मेरा लागि, म नमर्दासम्म, चलचित्र बनाउनु तथा अभिनय गर्नु सधैँ पहिलो तथा अन्तिम प्रेम हुनेछ ।’’

भारतका वर्तमान अभिनेता अभिताभ बच्चन, अनुपम खेर, शबाना अजमी, शाहरूख खानले ट्विटरमार्फत देवआनन्दप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

लेखक सल्मान रुस्दीले लेख्नुभएको छ ‘‘चिरशान्तिको कामना देव आनन्द । म तपाईंको चलचित्र हेरेरै हुर्किएको हुँ । विदाइ भन्दा दुःख लाग्छ ।’’

देवआनन्दको जन्म सन् १९२३ को सेप्टेम्बर २६ मा पञ्जावको गुर्दासपुरमा भएको हो । बेलायतले शासन गर्दा उक्त क्षेत्र भारतमा रहेपनि हाल पाकिस्तानमा पर्छ । उहाँले लाहोरमा शिक्षा प्राप्त गर्नुभएको हो ।

उहाँ भारतको चलचित्र तथा मनोरञ्जनको राजधानी बम्बै (हाल मुम्बै) मा अभिनय गर्न आउनुभएको हो र छिटै बम्बै टकिज एन्ड फिल्मस्तान स्टुडियोमा काम पाउनुभयो ।

उहाँको ख्याति ‘मुनिमजी’ – सन् १९५५, ‘सीआइडी’ – सन् १९५६, ‘कालापानी’ – १९५८, ‘लभ म्यारिज’ – सन् १९५९, ‘काला बजार’ – सन् १९६०, ‘हम दोनो’ – सन् १९६१ तथा ‘गाइड’ – सन् १९६६ जस्ता चलचित्रले बढाएका हुन् ।

देवआनन्दका चलचित्रमा समसायिक विषयवस्तुलाई मुख्य विषय बनाइन्थ्यो । चलचित्रबाहिर उहाँ राजनीतिक रूपमा पनि सक्रिय हुनुहुन्थ्यो ।

सन् १९७० को मध्यताका उहाँले तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको आपत्कालीन शासनको विरोधमा ख्यातिप्राप्त व्यक्तिहरूको एक समूहको नेतृत्व गर्नुभएको थियो । छोटो समय त उहाँले आफ्नै राजनीतिक दल पनि चलाउनुभयो ।

देवआनन्दलाई शैलीको विम्बको रूपमा पनि हेरिन्थ्यो र उहाँ सँधै स्कार्फ र पछिल्लो फेसनबीच देखिनुहुन्थ्यो । उहाँका रोमान्सेली विजययात्रा ‘रोमान्सिङ विथ लाइफ’ मा उल्लेख गरिएको छ ।

उहाँले जीनत अमान, मुमताज, टिना मुनिम जस्ता युवा नायिकालाई यस क्षेत्रमा ल्याउन सहयोग गर्नुभएको थियो ।

देवआनन्दको सन् १९५४ मा मोना सिंह नाम गरेकी कल्पना कार्तिकसँग विवाह भएको थियो र उहाँका एक छोरा र एक छोरी छन् । एएफपी

Leave a Reply