पुस ७, एजेन्सी। दक्षिणी जापानको प्रशान्त महासागरीय क्षेत्रमा रहेको ओगासावारा द्वीपहरुमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको जापानी जलवायु तथा विज्ञान सस्थाले जनाएको छ ।
बुधबार बिहान सबेरै स्थानीय समयअनुसार २ः३० बजे आएको उक्त भूकम्पपश्चात् सुनामीको चेतावनीसमेत दिइएको छ ।
केन्द्रविन्दुचाहि जापानको राजधानी टोकियोदेखि एक हजार किलोमिटर दक्षिणमा पर्ने चिचिजिमा सहर नजिक समुद्री तटवर्ती क्षेत्रको पानीमुनि १० किलोमिटर गहिराईमा रहेको थियो ।
भूकम्प गएलगत्तै हाचिज्यो द्वीप र चिचिजिमामा ६० सेन्टिमिटर अग्लो सुनामी छाल उठेको थियो ।
त्यस्तै प्रशान्त महासागरीय तटवर्ती द्वीपहरु सिचुओका, मिय वाकायामा र कोची जिल्ला तथा दक्षिण पश्चिमी द्वीप तानेगासी, आगामी, ओसिमामासमेत २० सेन्टिमिटर अग्लो सुनामी छाल उठेको जनाइएको छ ।
भूकम्प गएको केही घन्टापछि भूकम्प मापन केन्द्रका आधिकारिक व्यक्तिले केही समयसम्म कम्पन र सुनामी छालको बाटो हेर्न सतर्क भइरहन आहृवान गरेका थिए ।
भूकम्प प्रभावित क्षेत्र हाहा द्वीपको चिचिजिमा सहरबाट १७० जनालाई अन्यत्र सारिएको जापानी टेलिभिजन प्रशारण एनएचकेले जनाएको छ । भूकम्पबाट कुनै क्षति र हताहती भएको छैन ।
त्यस्तै आगामी हप्ता अर्को ठूलो भूकम्प आई अग्लाअग्ला सुनामी छाल आउन सक्ने सम्भावना रहेको पनि उक्त संस्थाले अनुमान गरेको छ ।
