काठमाडौ, फाल्गुन २६ -
मुख्य दलका शीर्ष नेताहरू आपसमा भेट्दा के कुरा गर्दा हुन् ? लामो बैठक र बसाइपछि उनीहरू पत्रकारलाई दुईचार लाइनका निस्कर्ष सुनाउँछन् । तर उनीहरूले गर्ने संवाद यत्तिमात्र त पक्कै हुँदैन । कहिलेकाही उनीहरू राजनीतिक विषयभन्दा बाहिर पनि पुग्दारहेछन् । कुरो- नयाँ संविधानका मुख्य राजनीतिक विषयमा रहेका विवाद मिलाउन केही अघि बसेको शीर्ष बैठकको हो, जहाँ लिङ्गको निकै ठूलो चर्चा भो । अरूभन्दा माओवादी नेता पुष्पकमल दाहाल अलि बढी नै रसिक रहेछन् । बैठकका एक सहभागीका अनुसारले सबैभन्दा पहिले उनैले लिङ्गको प्रसंग सुरू गरे । त्यस छलफलमा अरूले भाग नलिने कुरै थिएन । कलाकार सन्तोष पन्तका छोरा प्रतीकले लिङ्ग परिवर्तन गरी महिला बनेको प्रसंगले अरूलाई जस्तै नेताहरूलाई आश्चर्यमा पारेको रहेछ ।
विज्ञान र प्रविधिले गरेको प्रगतिका कारण प्रतीक बैंककको एक अस्पतालबाट केटलिनमा परिवर्तन भएकी थिइन् । पत्रपत्रिकामा आए जसरी उनको अनुहार र छातीमा स्त्रीरूप त नेताहरूले पनि ख्याल गरेका रहेछन् । तर उनीहरूलाई केटलिनमा पुरूष लिङ्ग कसरी स्त्रीलिङ बन्यो भन्ने जिज्ञासा रहेछ । नेताहरूको 'लिङ-बहस'का सबै कुरा डबलीमा पनि लेख्न नमिल्नेगरी ती सहभागीले सुनाए । आ-आफ्नै खाले तर्क र टिप्पणी नेताहरूले खुबै गरेछन्, तर कम्रेड दाहालको जिज्ञासाले ठ्याक्कै उत्तर भने पाउन सकेन रे । शीर्ष नेताहरूमध्ये कसैले पनि यसबारे निस्कर्ष भने दिन सकेनछन्, राजनीतिक मुद्दामा जस्तै । उनीहरू एउटा नयाँ ठम्याइमा भने पुगेछन् । त्यो के भने पहिले राजनीतिशास्त्रमा एउटा भनाइ थियो, बेलायतको संसदले महिलालाई पुरूष र पुरूषलाई महिलाबाहेक जे पनि गर्न सक्छ, भन्ने, तर अब जमाना फेरिएछ, बैंककको अस्पतालले पुरूषलाई महिला र महिलालाई पुरूष बनाउन सक्दोरहेछ भन्ने नेताहरूको निचोड रह्यो रे ।
- कास