राजेश सहानी, माघ १३, नवलपरासी ।
पर्यटन बर्ष २०११ लाई लक्षित गरी आज देखि नवलपरासीको त्रिवेणीमा त्रिवेणी धार्मिक महोत्सव २०६७ सुरु भएको छ । सरकारले पर्यटन वर्ष २०११ सफल पार्न देशका पर्यटकीय, सांस्कृतिक एवम् एतिहासिक स्थलको प्रचार प्रसार गरिरहेको बेला नवलपरासीको त्रिबेणी धाममा त्रिबेणी धार्मिक महोत्सवको आयोजना गरिएको हो । महोत्सवको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले उद्घाटन गर्नुभयो । पन्तले त्रिवेणी धामको उचित प्रचार प्रसार गर्न गरेर अत्यधिक पर्यटकहरु भित्राउन सकिने बताउनुभयो । पवित्र एवंम् ऐतिहासिक स्थल मानिने त्रिवेणी धाममा यस क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्राउने उद्देश्यले आयोजना गरिएको महोत्सव आठ दिनसम्म अर्थात माघ २० गतेसम्म चल्नेछ । पर्यटकीय सम्भावना प्रशस्त बोकेर पनि आझेलमा पदै आएको त्रिबेणी धाममा पहिलो पटक एक सातासम्म त्रिवेणी धार्मिक महोत्सव २०६७ हुन लागेको पन्तले बताउनुभयो । त्रिबेणी धाममा हुने प्रथम धार्मिक महोत्सव संचालनका लागि करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने नेपाल र भारतका गरि करिब ३ लाख बढी दर्शकले महोत्सवको अबलोकन गर्ने लक्ष्य राखिएको छ । त्रिवेणी धामको गजेन्द्र मोक्ष धाममा संचालन गरिने यस धार्मिक महोत्सवमा यज्ञ, होम, योग शिविर र प्रवचन सहित विभिन्न धार्मिक कृयाकलाप संचालन गरिने जनाईएको छ ।
