माघ ११, काठमाडौं ।
मंगलबार बिहान निधन भएका नेपालका पहिलो ओलम्पियन गंगाबहादुर थापाको राष्ट्रिय सम्मान सहित अन्त्येष्टी गरिएको छ । सन १९६४ मा जापानमा भएको ओलम्पिकमा नेपालका तर्फबाट सहभागी भएका थापाको ८५ वर्षको उमेरमा आज बिहान काठमाडौं मोडल अस्पतालमा निधन भएको हो । थापाप्रति श्रद्धान्जली अर्पण गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभयो । टोकियो ओलम्पिकमा नेपालबाट ६ खेलाडी सहभागी रहेकोमा थापाले म्याराथनमा सहभागीता जनाएका थिए । उच्चरक्तचापबाट ग्रसित थापा हिजो उपचारका लागि आफै अस्पताल पुग्नुभएको थियो । सन् १९३५ मा काठमाडौंमा जन्मेका थापाले एसियन खेलकुदमा समेत सहभागीता जनाएका थिए । उनको अन्त्येष्टी अघि राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा अन्तिम श्रद्धान्जली दिन खेलसम्बद्ध पदाधिकारीहरु, खेलाडीहरु, पूर्व ओलम्पियनहरुको उपस्थिति थियो । नेपालले सन १९६४ को ओलम्पिकमा बक्सिङ र म्याराथनमा सहभागिता जनाएको थियो ।
