माघ २६ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य रामचन्द्र झाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफ्नो पार्टीका अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सहमति अनुसार गृहमन्त्रालय माओवादीलाई छोड्न आपत्ति नपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपालले बुधवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले सात वुँदेमा सहमत हुने दुई दल गृह मन्त्रालयका कारण विवादमा पर्ने कुनै कारण छैन ।
सात वुंदेमा पूर्ण सहमत हुँदा हुँदै पनि त्यसका प्राविधिक पक्षमा भएको केही अप्ठ्यारोमा मात्र कुरा मिलाउनु पर्ने दाबी गर्नुभयो । हामीबीच शक्ति, विकास र निर्माण, सामाजिक र साधारण मन्त्रालय के, कसरी र कुन प्रक्रियाबाट विभाजन गर्ने भन्ने कुरा अघि बढी रहेको जानकारी झाले दिनुभयो ।
कार्यक्रममा माओवादीका पोलिटव्युरो सदस्य प्रभु शाहले आफुले छुट्टै पार्टी खोल्ने भन्ने बाहिरी हल्ला निराधार भएको बताउनुभयो । उहाले भन्नुभयो अहिले माओवादी र एमालेको बीचमा गठबन्धन बनेको छ, त्यसलाई बलियो बनाउनुपर्छ तर नेपाली काँग्रेसलाई निषेध गरेर बनाउने कुनै पनि गठबन्धनले निकास नदिने उहाले बताउनुभयो ।