मोरङ २२ असार ।
मोरङको लेटाङमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । गएराती घरको नजिक खेलिरहेका स्थानिय ज्याकु मगरका २ बर्षीय छोरा जेनिसको डुबेर मुत्यु भएको हो ।
अचेत अबस्थामा उद्धार गरिएका जेनिसको उपचारको क्रममा स्थानिय स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । उता टिभी हेर्ने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । कोठामा टेलिभिजन हेर्ने क्रममा हिजो साझ करेन्ट लागेका बडागाउ-६ धरमपानीका ५६ वर्षीय विष्णुप्रसाद घिमिरेको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय अर्जुन घिमिरेका अनुसार टेलिभिजन हेर्नका लागि स्वीच अन गर्दा विष्णुप्रसादलाई करेन्ट लागेको थियो ।
यस्तै विराटनगरस्थित बस्ता खोलाको पुलबाट खसेर एक बालक बेपत्ता भएका छन । गएराती आमासंगै घर जानेक्रममा स्थानिय धर्मेन्द्र कामतका ५ बर्षीय छोरा धनन्जय पुलबाट खसेर खोलामा बेपत्ता भएका हुन् । यसैबीच मोरङको सुन्दरपुर-९ मा आज बिहान भएको सवारी दुर्घटनामा परी ९ जना यात्रुहरु घाइते भएका छन् । पश्चिमबाट झापा गइरहेको ना ३ ख ४२७९ नम्बरको बस अचानक दुर्घटना हुदा त्यसमा सवार ९ यात्रुहरु घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकाहरुको इटहरीस्थित सामुदायिक अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।