अनुप बाबु श्रेष्ठ
साउन २६ गोरखा । गोरखा जिल्लाको धावा र तान्द्राङ गाउँ विकास समिति मा आठ महिनादेखि सामाजिक सुरक्षाको भत्ता वितरण हुन सकेको छैन । तान्द्राङमा २८५ जेष्ठ, ६३ दलित जेष्ठ, ८८ एकल महिला, ५ पूर्ण अपाङ्ग २ आंशिक अपाङ्गको गरी कुल १७ लाख ८४ हजार आठसय वितरण हुन नसकेको हो ।
यसै गरी धावा गा.वि.स.को १९५ जेष्ठ, ११९ दलित जेष्ठ, १०१ एकल महिला, ४ पूर्ण अपाङ्ग र १ आंशिक अपाङ्ग गरी १६ लाख ९४ हजार चारसय वितरण नभएको हो ।पहिलो किस्ताको रकमबाट गाउँमा सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिएको भएपनि दोश्रो र तेश्रोमा भने हुन नसकेको धावा गाउँ विकास समितिक सचिव रामचन्द्र रेग्मीले बताउनुभयो ।
आफूहरुसँग रकम नै नभएकोले सामाजिक सुरक्षाको भत्ता रकम वितरण नभएको तान्द्राङ गा.वि.स. सचिव रुद्रमणि ढकालले बताउनुभयो । यसबारेमा स्थानीय विकास अधिकारी तिलक पौडेलसँग कुरा राख्दा समयमा नै माग नभएकोले वितरण गर्न नसकिएको र अहिले सामाजिक सुरक्षाको भत्ताको लागि मन्त्रालयमा माग गरिएकोले जिल्लामा आए लगतै वितरण गरिने बताउनुभयो ।
सामाजिक सुरक्षाको भत्ता लिनपाउनेहरुले भने राज्यले दिएको अधिकार पनि कर्मचारीहरुले मनोमानी ढंगले परिचालन गर्ने खोजको आरोप लगाएका छन् । जिल्लामा जेष्ठ १४ हजार चारसय ७०, दलित जेष्ठ तीन हजार चार सय ४५, एक महिला ४४ सय ८५, लोपोन्मुख कुसुण्डा ६, पूर्ण अपाङ्ग २३७, आंशिक अपाङ्ग ७५ गरी कुल २२ हजार सातसय १८ जनाले सामाजिक सुरक्षाको भत्ता लिने गर्दछन् ।
यसरी प्रत्येक महिना एक करोड १४ लाख ६५ हजार पाँचसय रुपैयाँ सामाजिक सुरक्षा भत्ताको रकम वितरण हुन्छ ।