मङ्सिर २ इलाम । विकासको दृष्टिकोणले अगाडी बढ्दै गएको इलाम बजारमा अहिले बसाई सरेर आउने जिल्ला बाहिरका मानिसहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाईएको छ । मौसम, वातावरण तथा फस्टाउँदो व्यापार व्यवसाय र पूर्वाधार विकासले अगाडि बढ्दै गएपछि इलाम बजारमा बसाई सरेर आउने मानिसको संख्या बढ्दै गएको जिल्ला विकास समिति इलामले जनाएको छ ।
इलाम सदरमुकाममा गएको एक वर्षमा एक हजार दुई सय ८४ जना बसाई सरी आएको एक तथ्याङ्कका उल्लेख छ ।
त्यस्तै गरी २०६७ सालमा दुई हजार २१ जना यहाँबाट अन्यत्र बसाई सरी गएको पाईएको छ । इलाम बजार तथा जिल्लाका अन्य गाविसमा पाँचथर ताप्लेजुङ्गबाट धेरै मात्रामा बसाई सरी आउने गरेको कार्यालयले जनाएको छ । जिल्लाबाट भने तराईका जिल्लामा बसाई सरी जाने गरेको जिविसका रविन्द्र श्रेष्ठले बताउनुभएको छ ।
इलाम जिल्लाबाट ०६६ सालमा एक हजार सात सय ७० जना बसाईसरी गएको र एक हजार तीन सय ७५ जना जिल्लाभित्र बसाई सरी आएको तथ्याङ्क छ ।