संघीय लिम्बुवान राज्य परिषद्को आह्वानमा तीन दिनदेखि जारी आमहड्तालले इलाम लगायत पूर्वको जनजीवन कष्टकर बन्दै



मङ्सिर २७ इलाम ।  सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्को आह्वानमा तीन दिनदेखि जारी आमहड्तालले इलाम लगायत पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ। राज्य पुनर्संरचना आयोगमा संगठनको प्रतिनिधि समावेश गराउनु पर्ने माग गदै परिषद्ले आइतबारदेखि अनिश्चितकालीन आमहड्ताल आह्वान गरेकोले अरुणपूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको हो। 


बन्दका कारण बढी पूर्वी पहाडी जिल्ला धनकुटा, संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन बढी प्रभावीत भएको छ। सुनसरीको इनरुवा, दुहबी लगायतका स्थानमा सवारी साधन चलेका छन्। उत्तरी मोरङमा भने सवारी साधन चलेका छैनन्। विराटनगरमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेका छन्। त्यहाँ शैक्षिक संस्था, बजार-पसल समेत खुल्ला छ।

तीन दिनयता सुनसरी, मोरंग, धनकुटा, झापा, तेह्रथुमलगायतका जिल्लाहरुमा लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारीसाधानहरु चलेका छैनन् भने भने बजार, उद्योग, शैक्षिक संस्थाहरु पनि ठप्प छन्।
झापामा पनि बन्दको पूर्ण प्रभाव परेको छ।

लगातारको बन्दले गर्दा दैनिक उपभोग्य सामान समेत अभाव हुन थालेको छ। तराईबाट पहाडी जिल्लामा जाने र पहाडी जिल्लाबाट तराईका जिल्लामा आउने सयौँ सर्वसाधारण पनि अलपत्र परेका छन्।


सरकारले परिषद्को माग सम्बोधन गर्नेबारे कुनै चासो नदिएपछि परिषद्ले आन्दोलन अझै कडा बनाउने बताएको छ। 

तीन दिनदेखि जारी बन्दमा रिक्सा, मोटरसाइकल, कुटनैतिक नियोगका गाडी, दमकल, एम्बुलेन्स र प्रेसलगायत अत्यावश्यक सेवाका गाडीलाई मात्र चल्न छुट दिइएको छ।

यसअघि नेपाल सरकार र परिषद्‍बीच भएको ५ बुँदे सहमतिअनुसार राज्य पुनर्संरचना आयोगमा परिषद्को प्रतिनिधित्व नगराएको भन्दै परिषद्ले दबाबस्वरुप आमहड्ताल आह्वान गरेको हो।

Leave a Reply