दक्षिणी इलामको चुलाचुलीमा खानेपानीका १६ आयोजना




 पुस ११ इलाम । दक्षिणी इलामको चुलाचुली गाविसमा एकैपटक १६ वटा खानेपानीका आयोजना सञ्चालन गर्न सम्भाव्यता अभियान सुरु भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका प्राविधिक सहितको टोलीले चुलाचुलीमा सर्वेक्षण सुरु गरेको हो । गाविसका पूर्व अध्यक्ष ओमनारायण खनालले पहाडी र तराई भुभाग भएका चुलाचुलीका सबै वडामा खानेपानी स्रोत पहिचान र सम्भाव्यता अध्ययन सुरु गरिएको बताउनु भयो ।

अध्ययनका लागि प्राविधिक टोली प्रमुख रविन्द्रनाथ देव सहितको समूहले काम सुरु गरेको छ । जसअनुसार पहाडी भूगोल भएका गाविसका वडाहरुमा १४ वटा प्राकृतिक स्रोतयुक्त खानेपानी योजना र तराई भूगोलका वडाहरुमा २ वटा योजना सञ्चालन गर्ने तयारी भएको छ । तराई भूगोल भएका वडाहरुमा भुमिगत पानीको स्रोत पहिचान गर्ने र त्यसलाई ‘ओभरहेड ट्यांकी’ मार्फत वितरण गरिने छ । यता पहाडी भूगोल भएका वडाहरुमा भने प्राकृतिक स्रोत तथा मुहानको पानी वितरण गर्न सकिने बताइएको छ ।

अध्ययन तथा खोजीको सम्पूर्ण जानकारी मन्त्रालयमा प्रस्ताव स्वरुप पठाइने खनालले जानकारी दिएका छन् । प्राविधिकहरुका अनुसार चुलाचुलीमा यी सबै योजना पूरा गर्न कम्तिमा १० करोड रुपैयाँ खर्च हुने अनुमान छ । चुलाचुलीमा केही समययता खानेपानीको चर्को अभाव हुँदै आएको छ ।

Leave a Reply