इलामको साँखेजुङ खण्डमा बस दुर्घटनामा पैँतीस घाइते




इलाम १३ पुस । झापाको विर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको यात्रुबाहक बस मेचीमार्गअन्तर्गत इलामको साँखेजुङ खण्डमा आज दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

घाइतेमध्ये छजनाको अवस्था गम्भीर रहेको छ । गम्भीररूपमा घाइते भएका पाँचथरका गौरराज राई, गणेश राई, ताप्लेजुङका कुमार गुरुङ, सरदमान थुलुङ र झापा धरमपुरका डम्बर तामाङलाई इलाम अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको छ । अन्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु लिएर गइरहेको मे१ख ९१८ नम्बरको उक्त बस तीव्र गतिका कारण सडकमा नै पल्टिएको प्रहरीले जनाएको छ ।

Leave a Reply