भद्रपुर, १६ पुस । जङ्गली हात्तीको आक्रमणमा परी झापामा पुनः एक व्यक्तिको मृत्यु भएको छ । योसमेत झापामा हात्तीको आक्रमणमा परी एक महिनामा तीनजनाको मृत्यु भएको छ ।
गरामणि–३ बस्ने ६० वर्षीय दिलबहादुर मगरको हात्तीको आक्रमणमा परी शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नजिकैको जङ्गलबाट आएका तीनवटा हात्तीले सडकमा हिँडिरहेका पाँचजनालाई एक्कासि आक्रमण गरेको थियो । चारजनाले भागेर आफ्नो ज्यान जोगाउन सफल भए पनि मगरको ज्यान जोगिएन । उनलाई हात्तीले कुल्चेपछि घटनास्थलमै मृत्यु भएको हो ।
