काठमाडौं, १५ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार अहिले शान्ति, संविधान, सुशासन र संवृद्धिको अभियानमा लागेको बताउदै लामो समयदेखि अवरुद्ध शान्ति र संविधान निर्माणको काम तीव्र गतिमा अगाडि बढे दाबी गर्नुभएको छ ।
तमुल्होसारका अवसरमा आज राजधानीमा आयोजित बिशेष कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफू पछाडि नफर्किने भन्दै यथा समयमा बर्तमान सरकारले सम्पूर्ण जिम्मेवारी पुरा गर्ने बताउनुभयो । उहाँले शान्ति र संविधानको कार्यलाई एउटा निश्चित गन्तव्यमा पु¥याउँने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘शान्ति र संविधान निर्माणको काममा कहिले तीव्रता र कहिले मन्दी देखिन सक्छ तर त्यो निर्धारित समयमै पूरा भै छाड्नेछ, त्यसका अव अरु कुनै विकल्प छैन ।’
तमु लगायत नेपालको वहुसंख्यक उत्पीडित जाति र क्षेत्रले आफ्नो पहिचान र स्वायत्तता सहितको संघीय राज्य निर्माणका लागि लामो समयदेखि आन्दोलन गर्दै आइरहेको प्रधानमन्त्री भट्टराईले बताउनुभएको छ ।
सरकारले अहिले सुशासनको एउटा विशेष कार्यक्रम ल्याउन लागेको भन्दै भट्टराईले भ्रष्टाचारप्रति शून्य सहनशीलता र जनउत्तरदायी प्रशासन यो सरकारको प्रतिवद्धता रहेको बताउनुभयो ।
