झापा (काँकडभिट्टा), १७ माघ । झापाको विर्तामोडमा विश्वको सबैभन्दा होचो व्यक्तिको दाबीसहित दाङ पुरन्धरा–८ का एक वृद्ध सार्वजनिक भएका छन् ।
बाइस इन्च उचाइ र १२ किलोग्राम तौलसहितका ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई बागेश्वरी डाँगीबन्धु ट्रसको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बुबा बेलाराम डाँगी र आमा पिङ्गला डाँगीका छ भाइ छोरामध्ये उनी काइँला हुन् । एकदमै विकट र सञ्चार क्षेत्रको पहुँच नपुग्ने ठाउँमा बसोवास भएको हुनाले आफू आजसम्म सार्वजनिक हुन नसकेको उनको भनाइ छ ।
ट्रसले झापाको माइधारमा आयोजना गरेको पुराणमा सोमबार उनलाई विशेष अतिथिका रुपमा ल्याएको थियो ।
विसं २०६६ मा सल्यान जिल्लाबाट नागरिकता लिएपछि सरकारले प्रदान गरेको वृद्धभत्ता भने आफूले लिँदै आएको डाँगीले बताए ।
नेपालका खगेन्द्र थापामगर र फिलिपिन्सका जुनरी वालाविङभन्दा आफू होचो भएका कारण गिनिज बुकमा आफ्नो नाम लेखाइदिन सरकारसँग उनले अनुरोधसमेत गरेका छन् ।