बन्दको भ्रममा नपर्न कोचिला राज्य परिषदको आग्रह



पुस २७ इलाम । बुधबार  देखि पूर्वी तराइका जिल्लामा गर्ने भनिएको बन्दमा कोचिला राज्य परिषदको संलग्नता तथा समर्थन नरहेको परिषदले जनाएको छ ।

मंगलबार  अपरान्ह परिषदको नाममा पत्रकार सम्मेलन भइरहेको बेला आउनु भएका अध्यक्ष मुक्तिप्रसाद राजबंशीले परिषदले बन्दको आह्वान तथा समर्थनसमेत नगरेको भन्दै बन्दको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

पत्रकारहरुसँग उहाँले भन्नुभयो, ‘कोचिला राज्य परिषदको नाममा पत्रकार सम्मेलन गरेर लेटरप्याड दुरुपयोग गर्ने र बन्दमा निस्कनेलाइ कार्वाही हुन्छ ।’पत्रकार सम्मेलनमा बन्द गर्न परिषदको समर्थन रहेको र नरहेको भन्ने दुबै पक्षको सहभागिता रहेको थियो ।
बन्दमा समर्थन रहेको भन्दै परिषदका उपाध्यक्ष लेखराज खवासले पत्रकार सम्मेलन गरेकोप्रति आपत्ती जनाउँदै परिषदले यस बिषयमा गम्भिरका साथ छानबिन गरी कार्बाही गर्ने चेतावनी पनि अध्यक्षले दिनुभएको छ ।


परिषदका अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष तथा सचिबालय संयोजकको अध्यक्षतामा बसेको बैठकले बन्दमा समर्थन गर्ने निर्णय भएको पत्रकार सम्मेलन गरेर जानकारी गराएलगत्तै अध्यक्ष मुक्तिप्रसाद राजबंशी परिषदको कुनै समर्थन नरहेको बताउनु भएको हो ।

पत्रकार सम्मेलन स्थलमा आइपुगेका युवा संघका कार्यकर्ताहरुले बन्दमा समर्थन फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष राजबंशीले परिषदको नाममा भ्रम सिर्जना गर्नेलाइ कार्वाही गर्ने र बन्दमा नउत्रिन परिषदका कार्यकर्तालाइ निर्देशन दिने बताउनु भएको छ ।

एउटै संगठनका पदाधिकारीले एकै स्थानमा एउटाले बन्दमा समर्थन भएको र अर्कोले नभएको बताएपछि केहि क्षण अन्योल सिर्जना भएको थियो ।त्यहि एक अर्काबिच आरोप प्रत्यारोप समेत चलेको थियो ।

युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाइ लक्षित गरि बन्द गराइएको भन्दै युवा संघ दमकका अध्यक्ष इन्द्र गुरुङ सहितको टोलीले परिषदका पदाधिकारीलाइ बन्द फिर्ता गर्न आग्रह गरेको थियो ।

Leave a Reply