भद्रपुर, १६ माघ । झापा जिल्लामा हात्तीको समस्या वर्षौंदेखि विकराल रूपमा रहेको भए पनि यसलाई नियन्त्रणका लागि गरिएका कार्य निरर्थक भएपछि करोडौँको लगानी बालुवामा पानीसरह भएको छ ।
सीमावर्ती भारतको पश्चिम बङ्गालस्थित केराबारी जङ्गलमा दिनभरि बसोबास गर्ने र साँझ पर्नासाथ झापाको पूर्वोत्तर गाविस बाहुनडाँगी हुँदै जिल्लाका अधिकांश गाविसमा पुग्ने गर्छन् ती जङ्गली हात्ती ।
हात्तीहरूलाई प्रवेश गर्न नदिने उद्देश्यले करिब एक करोड ५० लाखको लागतमा बाहुनडाँगी गाविसमा १७ किलोमिटरमा निर्माण गरिएका विद्युतीय तारबारको घेरा यतिखेर लथालिङ्ग अवस्थामा रहेको छ ।
‘विभिन्न ठाउँमा तार चुँडिएको छ, खम्बाहरू लडेका छन् । हात्ती निर्बाध रूपमा आवतजावत गरिरहेको अवस्थामा छ,’ हात्ती नियन्त्रणका लागि गठित तारबार उपभोक्ता समितिका सचिव निरज घिमिरेले भन्नुभयो– ‘मर्मतसम्भारका लागि कुनै पक्षले चासो नलिएको कारणले हात्तीको आतङ्क जारी छ ।’
जङ्गली हात्तीको प्रवेशमा रोकथाम गर्न सभासद् धर्म घिमिरेले २०६४ सालमा विद्युतीय तारबारले घेरा गरेपछि नियन्त्रण गर्न सकिने उद्देश्यका साथ उक्त योजनामा कार्य गर्न स्थानीय जनताका साथै जिल्ला विकास समितिलाई प्रेरित गर्नुभयो ।
सभासद् घिमिरेको अध्यक्षतामा हात्ती नियन्त्रणका लागि तारबार उपभोक्ता समिति गठन गरियो । बडो उत्साहका साथ काम पनि भयो तर, चुँडिएका तार र लडेका खम्बालाई मर्मत सम्भारका लागि बजेटको व्यवस्था नभएको कारणले हात्तीको आतङ्क यथावत् रहेको उहाँको भनाइ छ ।
यस सम्बन्धमा स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौलाले जिल्ला विकास समितिले हात्ती नियन्त्रण गर्न लगानी गरे पनि तारवारको संरक्षण गर्नमा स्थानीयले वास्ता नगरेको कारण समस्या ‘ज्यूँ का त्यूँं’ रहेको गुनासो गर्नुभयो ।
‘रु एक लाख कतैबाट विनियोजन भएमा विद्युत् तारबारको मर्मतसम्भार गर्न सकिने छ’, सचिव निरज घिमिरेले भन्नुभयो– ‘यसका लागि सरकारलगायत विभिन्न निकायमा प्रयास गरिए पनि बजेटको व्यवस्था हुन नसकेको हो ।’
सोलारको माध्यमले विद्युतीय तारमा विद्युत् प्रवाह हुने गर्छ । त्यस तारलाई छोएको खण्डमा विद्युतीय झटका लाग्ने गर्छ । दिनको समयमा मानिसको आवतजावत गर्ने र गाईगोरु चर्ने गरेकाले दिनभरि विद्युत् प्रवाह नगराई रातको समयमा मात्रै गराउने गरिन्थ्यो ।
सो कारणले कतिपय गोठालेले तार चुँडाइ दिने गर्ने गरेको र रातको समयमा विद्युतीय प्रवाह गरे पनि तारमा विद्युत् प्रवाह हुने तर खम्बामा विद्युत् प्रवाह नहुने गरेकाले बुद्धिमान हात्तीले तारलाई नछोई सिधै खम्बालाई लडाएर प्रवेश गर्ने गरेको स्थानीयले बताएका छन् ।
हात्तीको प्रवेशलाई नियन्त्रणका लागि विगत तीन वर्षमा वन मन्त्रालयले पनि पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयमार्फत रु ३० लाख खर्च गरेको छ । तारबार निर्माण गर्ने काम उपभोक्ता समितिको साझेदारीमा गरिएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी गराउनुभएको छ ।
सोअन्तर्गत बाहुनडाँगीस्थित तेलपानी सामुदायिक वन उपभोक्ता समिति, बुधबारेको आदर्श नमूना वन, अर्जुनधाराका दहिजोडा, खुदनावारीका जुकेखाडी वन उपभोक्ता समितिलाई सोलार फेन्सिङको कार्य गरिएको उहाँले जानकारी गराउनुभयो ।
यस जिल्लामा दुई किसिमका हात्तीको प्रवेश हुने गर्छन् । एकथरीका रेथाने हात्ती र अर्का थरीका समूहका हात्ती । रैथाने हात्ती बाहुनडाँगी गाविसदेखि दुई किलोमिटर पूर्वमा स्थित भारतको केराबारी जङ्गलमा बस्ने गर्छन् । ती हात्तीहरू साँझ पर्नासाथ प्रवेश गर्ने र बिहानै फर्केर जाने गर्छन् अर्का थरिका समूहका हात्ती आसाम जङ्गलबाट झुण्डका झुण्ड आउने गरेको सचिव घिमिरेले बताउनुभयो । यतिखेर झापामा रैथाने हात्तीले आतङ्क मच्चाएका छन् ।
प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीलाई नियन्त्रण गर्नका लागि एउटै माध्यमका रूपमा विद्युतीय तारवारको घेरा रहेको छ, आसाम र पश्चिम बङ्गालमा सफल पनि भएकाले यसलाई व्यवस्थित ढङ्गले गरेमा हात्ती नियन्त्रणमा आउन सकिने बताउनुभयो ।
झापा जिल्लामा हालसम्ममा हात्तीबाट कतिको क्षति भएको छ । त्यसको वास्तविक एवम् आधिकारिक तथ्याङ्क कुनै निकायसित छैन । विगत तीन वर्षदेखि हात्तीको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको तथ्याङ्क राखिन थालिएको छ ।
यस सम्बन्धमा जिल्ला वन कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार विगत तीन वर्षमा हात्तीको आक्रमणमा परी तीन भुटानी शरणार्थीसहित १२ जनाको मृत्यु भइसकेको छ भने चारवटा हात्ती पनि मारिएका छन् ।
सरकारले हात्तीको आक्रमणमा परी मृत्यु हुने परिवारलाई राहतस्वरूप रु एक लाख ५० हजार दिँदै आइरहेको छ ।
