स्वस्थानी व्रत प्रारम्भ



काठमाडौँ, २५ पुस । पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्रीस्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ भएको छ ।

यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्नकालमा श्री महादेवको पूजा आराधना गर्छन् ।

श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा वास हुने विश्वास गरिन्छ ।

यस उपलक्ष्यमा काठमाडौँबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । आजैदेखि माघेस्नान पनि सुरु भएको छ ।

Leave a Reply