ललितपुर, १४ फागुन । एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ ले शान्ति प्रक्रिया र संविधान लेखनप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घले आज यहाँ आयोजना गरेको प्रगतिवादी साहित्यकार घनश्याम ढकालको १३ औँ पुण्यतिथिमा आयोजित सभामा उहाँले दुवै प्रक्रियामा एमाओवादी प्रतिबद्ध भए पनि आन्दोलनका उपलब्धिलाई तोड्न सबैखाले षड्यन्त्र भइरहेको उल्लेख गर्नुभयो ।
नेता वैद्यले शान्ति प्रक्रिया सम्मानजनक ढङ्गले अघि बढाई जनपक्षीय संविधान लेखिनुपर्ने भन्दै त्यसमा धोका भए सहिद र साँस्कृतिक योद्धाको सपना साकार पार्न अन्तिम लडाइँ लड्ने उद्घोष गर्नुभयो ।
प्रगतिवादी साहित्य र साँस्कृतिक आन्दोलनका अगुवा स्वर्गीय ढकालको दुःखद निधनले साँस्कृतिक र वैचारिक आन्दोलनमा अतुलनीय क्षति भएको उहाँले उल्लेख गर्नुभयो ।
एमाओवादी पोलिटब्यूरो सदस्य एवम् साँस्कृतिक फाँटका इन्चार्ज निनु चापागाईँले प्रगतिवादी साहित्य आन्दोलनका प्रखर योद्धाको निधनले ठूलो क्षति पुगेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले निष्ठावान् समर्पित ढकालको निधनले पछिल्लो समय शिथिल र विकृतिपूर्ण अवस्थामा रहेको प्रगतिवादी साँस्कृतिक आन्दोलनलाई धक्का लागेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा समालोचक अमर गिरी, एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीलगायतले प्रगतिवादी साँस्कृतिक आन्दोलनमा स्वर्गीय ढकालले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
विसं २०१० सालमा स्याङ्जा पुतलीबजारमा जन्मिएका प्रगतिशील लेखक सङ्घका अध्यक्ष ढकालको गत फागुन एक गते मोटरसाइकलको ठक्करबाट निधन भएको थियो ।