झापा, २५ फागुन । जिल्ला विकास समिति झापाले जिल्लाभित्रका आठ उद्योगलाई अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिएको छ ।
जिविसमा स्थापना भएको वातावरण उपसमितिले तोकिएका मापदण्ड पुरा गरे–नगरेको अनुगमन गरी उक्त निर्णय गरिएको जिल्ला विकास समिति झापाले जनाएको छ । वातावरण संरक्षण नियमावली २०५४ बमोजिम ताप, रेडियोधर्मी, विकीरण, ध्वनि प्रदूषण, ग्यासजन्य प्रदूषण, फोहरमैला, पानी, हावा र जमिनमा प्रदूषण प्रवाह नगरी रोकथाम र नियन्त्रण गर्ने सर्त पालना गरिएको आधारमा उक्त प्रमाणपत्र प्रदान गरिएको जिविसका वातावरण शाखा अधिकृत ज्ञानेन्द्र चौधरीले बताउनुभयो ।
प्रमाणपत्र प्राप्त गर्ने उद्योगमा रितिका डेरी उद्योग धाइजन–६, पाथीभारा वेभरेज एन्ड फुड उद्योग दमक–१०, न्यू हनुमान पाउरोटी उद्योग दमक–११, नूतन सेलर राइस मिल लखनपुर–४ र सिएम मेटल उद्योग दमक–१२ छन् । त्यसैगरी, पशुपति च्युरा मिल दमक–११, दक्षिणकाली प्लास्टिक उद्योग महेशपुर–८ र सुदेव मिनरल एन्ड वेभरेज उद्योग दमक–१० छन् । यो समेत गरी झापामा अब यस्ता अस्थायी प्रमाणपत्र प्राप्त गर्ने उद्योगको सङ्ख्या १३ पुगेको छ ।
