माओवादी अझै विद्रोही : शंकर पोखरेल


पुस १०,भक्तपुर।
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले माओवादी अझै विद्रोही शक्ति भएको आरोप लगाएका छन् । विद्रोहीले तत्काल सरकारमा जाने सपना नदेख्न उनले आग्रह गरेका छन् ।

'
माओवादी शान्ति प्रक्रियाबाट आएको विद्रोही हो,' भक्तपुर एमाले एक र दुई नम्बर क्षेत्रीय कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको संगठित सदस्यको शपथग्रहण कार्यक्रममा उनले भने, 'माओवादी अझै पनि विद्रोही नै हो, उसले एक्लै राज्य चलाउँछु भन्ने अहंकार गर्छ भने जनताले साथ दिन सक्दैनन् ।' माओवादीसँग भएको सहमति पूरा नभएकाले अझै विद्रोही भएको उनको आरोप थियो । 'हतियार र लडाकु भएका दलसँग किमार्थ सरकारको नेतृत्व दिन सकिँदैन,' उनले भने । उग्रवादी सोचका कारण माओवादी एकपछि अर्को गरी सबै दलबाट एक्लिँदै गएको उनको बताए । एक्लै अगाडि बढ्न खोज्दा राष्ट्रपति, उपराष्ट्रपतिको पद नपाएको, सरकारबाट बाहिरिएको उनको भनाइ थियो
६ महिना सकिने शान्ति प्रक्रिया माओवादीकै कारण चार वर्षमा पनि नसकिने दाबी उनले गरे । 'माओवादी शान्ति प्रकिया अगाडि बढाउने पक्षमा छैन,' उनले भने, 'पालुङटार भेलामा पनि विद्रोहको तयार रहन कार्यकर्तालाई प्रशिक्षण दियो ।' विद्रोहमा जाने माओवादी निर्णय पूरा हुन नदिने उनले बताए । 'कथित जनविद्रोहका नाममा मुलुकलाई अस्तव्यस्त पार्छु भन्ने मओवादीको रहर पूरा हुन दिन्नँ,' उनले भने ।
शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउन सक्ने अवस्थामा पनि विद्रोहमा जाने निर्णय गरेर माओवादीले सहमतिको राजनीतिबाट पछि हटेको आरोप उनले लगाए ।

Leave a Reply