माघ १३ काठमाडौँ। बहुमतिय प्रक्रिया भित्रै सहमति खोज्न दलहरु बिहिबार विहानैदेखि दौडधुपमा लागेका दलहरु आज पनि असफल भएका छन् । काठमाडौंको र्याडिसन होटलमा बसेको बैठकमा माओवादीले सहमतिको खाका पेश गरेपछि त्यसमाथि वहस भएको थियो ।
बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै माओवादी नेता वर्षमान पुन अनन्तले बैठकमा काङ्ग्रेस र एमालेले माओवादीलाई शान्तिप्रक्रियाको विश्वासिलो आधार पेश गर्न आग्रह गरेको बताए । यसो भएमा अरु दल माओवादी नेतृत्व स्वीकार्न तत्पर देखिएको अनन्तको भनाई थियो । तर काङ्ग्रेसले भने शान्ति प्रक्रियालाई पूर्णता दिने आधा दिन नसक्ने भए अन्तरिम कालका लागि आफूलाई नेतृत्व दिन प्रस्ताव गरेको थियो । बिहीबारको बैठकमा सहमति हुन नसकेपछि दलहरु फेरि छलफलमा निरन्तर जुट्ने भएका छन् । शुक्रबार द्धिपक्षीय अनौपचारिक छलफल गरी शनिबार फेरि शीर्ष तहमा बैठक बस्ने सहमति भएको नेताहरुले बताए ।
यस अघि हिजो बुधबार गोकर्ण रिसोर्टमा भएको वार्ताका आधारमा सहमति खोज्न दलहरुबीच आज फेरि संयुक्त बैठक बसेको थियो । माओवादी सेनाको समायोजनको मोडालिटी, समायोजनको प्रक्रिया, सङ्ख्यालगायतका विषयमा टुङ्गो लगाएपछि माओवादी नेतृत्वमा पनि सरकार बन्न सक्ने प्रस्ताव राखेका छन् ।
