सपना कुँवर, माघ ११, पर्वत ।
गाउँघरमा गाइने ‘सालैजो’ भाका अहिले लोप हुँदै गएको छ । क्यासेटमा घन्कने बाहेक गाउँमा समुहमा बसेर गाउने चलन लोप हु्ँदै गएका बेला पर्वतको आर्थर डाडाँखर्क गाबिसको काउले गाउँका गुरुङ्ग समुदाय भने ‘सालैजो भाका’ संरक्षण अभियानमा लागेका छन् । आर्थर डाडाँखर्क गाउँ बिकास समिति वडा नं ९ काउलेमा गठन भएको रामभक्त सांस्कृतिक समुहले ‘सालैजो’ संरक्षण अभियान शुरु गरेको हो । आफ्नो मौलिक भाका हराउँदै गएपछि बिबाह ब्रतबन्ध जस्ता चाडपर्व देखि गाउँ आउने आन्तरिक र बाह्य पर्यटकलाई स्वागतका लागि समेत ‘सालैजो’ भाका गाउन थालिएको छ । धौलागिरीमै पर्ने आर्थरको गुरुङबस्तीका स्थानियहरु अझै पनि आफ्नो सस्कृतीलाई बचाईराख्नका लागि रातभर स्थानिय सालैजो सोरठी यानिमाया सुनिमाया लगायतका भाखाहरु गउदै रोधी बस्ने गरेका छन ।
