१० दिने सद्भावना भ्रमणका सिलसिलामा राष्ट्रपति यादव भारत प्रस्थान

माघ १३, काठमाण्डु ।
१० दिने सद्भावना भ्रमणका सिलसिलामा राष्ट्रपति डाक्टर रामवरण यादव भारत प्रस्थान गर्नुभएको छ । राजधानी नयाँदिल्ली पुग्नुअघि राष्ट्रपतिको कोलकाता र तिरूपतिको भ्रमण गर्ने कार्यक्रम छ । यही क्रममा आज उहाँ आज काठमाडौंबाट भारतको कोलकाता जानुहुनेछ । राष्ट्रपतिसँग उहाँकी सुपुत्री
अनिता, मन्त्री डाक्टर मिनेन्द्र रिजाल, राजनीतिक सल्लाहकार हरि शर्मा, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव तथा अन्य वरिष्ठ अधिकारी गरि १७ जनाको टोली छ । कोलकत्तामा राष्ट्रपति डा यादव कोलकत्ता मेडिकल कलेजको भोलि स्थापना दिवसमा सहभागी हुनुहुनेछ । राष्ट्रपति डा यादव सन् १९६० को दशकमा सो कलेजको विद्यार्थी हुनुहुन्थ्यो । सोही दिन उहाँ पश्चिम बङ्गालका गभर्नरले उहाँको सम्मानमा दिइने रात्रिभोजमा सरिक हुनुहुनेछ । राष्ट्रपति डा यादवले माघ १५ गते शान्ति निकेतनको भ्रमण गर्नुहुनेछ । माघ १६ गते तिरूपतिका लागि प्रस्थान गर्नुहुनेछ भने माघ १७ गते नयाँ दिल्ली पुग्नुहुनेछ । नयाँदिल्लीमा राष्ट्रपति डा यादवको स्वागतार्थ भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलले रात्रिभोजको आयोजना गर्नुहुनेछ र उहाँहरूबीच द्विपक्षीय भेटवार्ता पनि हुनेछ । भारतीय उपराष्ट्रपति मोहमद हमिद अन्सारीले राष्ट्रपति डा यादवसँग भेट गर्ने कार्यक्रम पनि छ । राष्ट्रपति डा यादवले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँग भेट गर्ने कार्यक्रम छ । त्यसैगरी काङ्ग्रेस अध्यक्ष तथा संयुक्त प्रगतिशील गठबन्धनका अध्यक्ष सोनिया गान्धी, विभिन्न केन्द्रीय मन्त्री, भारतका दुवै सदनका विपक्षी नेता र अन्य विशिष्ट राजनीतिक नेताले उहाँसँग नयाँ दिल्लीमा भेटघाट गर्नुहुनेछ । राष्ट्रपति डा यादवले चण्डिगढस्थित पोस्ट ग्राजुएट इन्टिच्युट अफ मेडिकल एन्ड रिसर्चमा भ्रमण गर्नुहुनेछ । त्यहाँ हुने दीक्षान्त समारोहमा उहाँ प्रमुख अतिथि हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति डा यादवले सन् १८८४–८५ मा सोही इन्टिच्यूटबाट स्नातकोत्तर गर्नुभएको थियो । उहाँ माघ २२ गते स्वदेश फर्कनुहुनेछ ।

Leave a Reply