माघ १०, दोलखा ।
एकीकृत नेकपा माओवादी दोलखाले प्रधानमन्त्रीले आउँदो माघ १३ गते गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलन्यास कार्यक्रम विथोल्ने संकेत गरेको छ । सर्वपक्षिय सहमति र पूर्व तयारी विना नै एकपक्षिय ढंगले हतारमा आयोजनाको शिलन्यास गर्न लागेको भन्दै माओवादीले समारोह सफल हुन नदिने संकेत गरेको हो । आज विहान सदरमुकाम चरिकोटमा माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद देवी खड्काले सर्वपक्षिय सहमति विना शिलान्यास गर्न लागिएकाले समारोहमा आफ्नो सहभागिता नहुने र जवरजस्ती गरिए प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो । आयोजना सञ्चालक समितिको निर्णय बिनाहवाइ मार्गबाट लाखौँ रुपैयाँ खर्च गरी आकस्मिक शिलन्यास गरिनु षड्यन्त्र भएको सभासद् खड्काले बताउनुभयो । एकीकृत नेकपा माओवादी दोलखाका सेक्रेटरी हिमाल शर्मा, सभासद हेमबहादुर श्रेष्ठ र देवी खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा आयोजनालाई कार्यकारी प्रमुख विहिन अवस्थामा अनिर्णयको बन्दि बनाइ पेन्सनवाला कर्मचारीलाई मात्र थुपारेको गलत प्रवृत्तिको छानविन गर्न समेत माग गरिएको छ ।
