प्रधानमन्त्रीदवारा लडाकूलाई विशेष समिति मातहतमा ल्याउन प्रचन्डलार्इ आग्रह


काठमाडौँ, २१ पुस ।
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई माओवादी सेनाका लडाकूहरूको रेखदेख, समायोजन र पुनःस्थापनाका लागि विशेष समितिमार्फत संरचना निर्माण गर्न ढिलो भइरहेकाले त्यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री नेपालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा माओवादी अध्यक्ष दाहाललाई यस्तो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले भने- 'चार महिना पहिला नै तपाईं र मेराबीचमा भएको लिखित समझदारी अनुरुप अहिले अनमिन बिदा हुँदैछ । विशेष समितिले बाँकी जिम्मेवारी निर्वाह गर्ने सहमति पनि भइसकेको छ । यसका लागि कार्यविधि, आचारसंहितालगायतका आवश्यक दस्तावेजहरू पनि बनिसकेका छन् । अब यसलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्न आवश्यक छ ।'
जवाफमा अध्यक्ष दाहालले आफू पनि छिटो शान्तिप्रक्रिया निष्कर्षमा पुगोस् र संविधान निर्माण होस् भन्ने पक्षमा रहेको जानकारी दिँदै त्यसका लागि तीन दलको बैठक आयोजना गर्न आग्रह गरेका थिए ।
यस्तै भेटमा अनमिनको अनुगमनमा रहेको हतियार उसको बिदाइपछि सरकारलाई बुझाउनुपर्ने अभिव्यक्तिप्रति माओवादी अध्यक्ष दाहालले प्रतिवाद गरेका थिए । उनले शान्तिप्रक्रियापछि मात्रै अनमिनको बिदाइ गर्नुपर्ने बताउँदै अनमिनको मातहतमा रहेको हतियार सरकारको मातहतमा ल्याउन नहुने बताएका थिए ।
यसअघि प्रधानमन्त्री नेपालले मङ्गलबार साँझ माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि यही विषयमा कुराकानी गरेका थिए
यसैबीच प्रधानमन्त्री नेपालले बुधबार दिउसो १ बजे नै यस सम्बन्धमा छलफल गर्नका लागि विशेष समितिको बैठक बोलाएकोमा विशेष समितिका सदस्य वर्षमान पुनले आफू भारत भ्रमण जान लागेकाले आफू आएपछि बोलाउन आग्रह गरेअनुसार बैठक स्थगित भएको सल्लाहकार रिजालले जानकारी दिए ।

Leave a Reply