नेपाली विशिष्टतामा जनताको सङ्घीय गणतन्त्र

डा. बाबुराम भट्टराई
क्रान्तिको विकास मात्रात्मक र गुणात्मक दुवै परिवर्तनको संयोजनबाट हुन्छ । मात्रात्मक परिवर्तनको
कालखण्ड शान्तिपूर्ण ढङ्गबाट हुन्छ । गुणात्मक परिवर्तन हिंसात्मक ढङ्गबाट हुने गर्दछ । शान्तिपूर्ण र हिंसात्मक दुवै सङ्घर्षका रुपहरुको सन्तुलन मिलाएर मात्रै समाज परिवर्तन हुन्छ । १० वर्षसम्मको हिंसात्मक सङ्घर्षले पुरानो राज्यसत्तालाई एक हदसम्म ध्वंस ग¥यो । त्यसपछि रुपान्तरणको निम्ति केही समय मात्रात्मक बाटोबाट अगाडि बढ्नुपर्छ भनेर हामीले शान्तिपूर्ण यात्रा तय गरेका हौं । हामी ले जुन उपलब्धीहरु हासिल गरेका छौं, त्यो उपलब्धीको रक्षा गरेर अगाडि बढ्ने आधार तयार भएको छ ।

शान्तिवार्तापछि क्रान्तिको जुन विकास भएको छ, त्यो मूल रुपमा सही र सकारात्मक छ । केही त्रुटी र कमजोरीहरु पनि भएका छन् । त्यसलाई सच्याउनुको विकल्प छैन ।विगतमा भएका कमीकमजोरीहरुलाई सच्याउँदै र समीक्षा गर्दै हामी अगाडि बढ्नुपर्छ । यसरी नै समाज विकासको गतिलाई निरन्तर अगाडि बढाउन सक्छौं । शान्तिपूर्ण रुपमा आएपछि केही कमजोरीकाबाबजुद हाम्रा कामहरु सकारात्मक र उपलब्धीमूलक भएका छन् । तर, क्रान्तिकारीहरु भएका उपलब्धीहरुबाट मात्रै कहिल्यै पनि सन्तुष्ट हुनु हुँदैन । सन्तुष्ट भएर बस्यौं भने विकास अवरुद्ध हुन्छ ।

प्रत्येक चिजको एकको दुईमा विभाजन हुनु स्वभाविकै प्रक्रिया हो । हाम्रो क्रान्तिकारी आन्दोलनको अनुभवलाई पनि त्यसरी नै विभाजन गरेर हेर्नु उपयुक्त हुन्छ ।हाम्रोजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशक देशमा सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी जनवादीक्रान्ति सम्पन्न गर्नुपर्छ । जनवादी क्रान्तिको जगमा टेकेर समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नुपर्छ । यो नै हाम्रो सैद्धान्तिक मान्यता हो । त्यसअनुरुप अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा हुने पुँजीवादी जनवादी क्रान्तिलाई हामी कहिले जनताको जनवाद, कहिले नयाँ जनवाद भन्ने गरेका छौं । तर, अहिले नेपालको सन्दर्भमा हामी जनताको जनवादबाट पनि माथि उठ्ने र क्रान्तिको विकास गर्ने सोचमा छौं ।

त्यसैअनुरुप हामीले २१औं शताब्दीमा जनवादको विकासको प्रस्ताव पारित गरिसकेका छौं । जनवादी र समाजवादी क्रान्तिको कालखण्डमा पनि प्रतिस्पर्धासहितको जनवादको अभ्यास गर्ने मान्यता अगाडि सारेका छौं ।

नेपालजस्तो देशमा एकात्मक राज्यसत्ता रहँदै आएको छ र उत्पीडित राष्ट्रियताकोठूलो सङ्ख्या रहेको अवस्थामा राज्यको ढाँचा सङ्घीय बनाउनुपर्छ । त्यसरी हेर्दा हाम्रो सन्दर्भको जनताको जनवाद वा नयाँ जनवादमा २१औं शताब्दीको जनवादका अवधारणा पनि समावेश हुनुपर्छ । जनवादी सत्ताको स्वरुप चाहिँ जनताको सङ्घीय गणतन्त्र हुन्छ भनेर परिभाषित गरेका छौं । हामीले यसको
मोटामोटी खाका संविधानसभामा प्रस्तुत गरेको संविधानमा उल्लेख छ ।

सारमा जनताको सङ्घीय गणतन्त्र र जनगणतन्त्र एउटै हो । जनताको सङ्घीय गणतन्त्रको चरित्र सामन्तवाद, साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति हो । यद्यपि रुप पक्षमा भने यी दुईमा केही भिन्नताहरु छन् । जस्तो कि (१) यसमा प्रतिस्पर्धा हुन्छ र (२) राज्यको स्वरुप सङ्घीय हुन्छ । जनताको सङ्घीय गणतन्त्र पुँजीवादी जनवादी क्रान्तिको चरण हो । त्यसकारण यसमा सामन्तवादका सम्पूर्ण रुपहरुलाई अन्त्य गरिनुपर्छ । मुख्य रुपमा क्रान्तिकारी भूमिसुधारमार्फत् ‘जमिन जोत्नेको’ नाराका आधारमा भूमिसम्बन्धलाई रुपान्तरण गरिनुपर्छ । हाम्रोजस्तो देशमा दलाल नोकरशाही पुँजीको उत्पीडन हुने गरेको छ । दलालहरुको पुँजीको अन्त्य गरेर राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्नुपर्छ । यसले श्रमिक जनताको उत्पादनका साधनमाथि स्वामित्व कायम हुन पुग्छ । यो समाजवादउन्मुख पुँजीवादी क्रान्ति भएको हुनाले यसमा समाजवादका कतिपय भ्रुणहरु रोपिन्छ । मूलतः साना किसान, साना उद्योगी–व्यवसायीलाई सहकारीमार्फत् सङ्गठित गरिन्छ । र, सहकारीलाई समाजवादतर्फ सङ्क्रमणको माध्यमको रुपमा विकास गर्ने अवधारणा स्वीकार गरिन्छ । यसमा महिला,दलित तथा सम्पूर्ण उत्पीडितमाथिको उत्पीडनको अन्त्य गर्ने गरिन्छ । सामाजिक, सांस्कृतिक विभेदकोअन्त्य गरेर वैज्ञानिक, जनवादी संस्कृतिको विकास गरिन्छ । पुँजीवादी जनवादी क्रान्ति हुँदाहुँदैपनि नयाँ ढङ्गको समाजवादउन्मुख क्रान्ति भएको हुनाले यसमा राष्ट्रिय औद्योगिक पुँजीवाद रसमाजवादका रुपहरु विद्यमान हुन्छन् ।

आजसम्म हामीले जेजति उपलब्धीहरु प्राप्त गरेका छौं, मूलतः बलप्रयोगमा आधारित भएर प्राप्त भएका हुन् । बलप्रयोगको साथमा शान्तिपूर्ण सङ्घर्षको पनि संयोजन भएको छ । हाम्रो प्रयत्न क्रान्तिलाई सम्भव भएसम्म शान्तिपूर्ण ढङ्गले अघि बढाउने हुन्छ । तर, प्रतिक्रियावादी वर्गले अवरोध सिर्जना गरे भने त्यो फेरि हिंसात्मक बन्न जान्छ । त्यसैले शान्ति र हिंसा मात्रात्मक र गुणात्मक परिवर्तनका रुपहरुको संयोजन भएर क्रान्ति प्रक्रिया अगाडि बढ्छ । नेपालको सन्दर्भमा पनि यो सार्वभौम विकासको नियम लागु हुन्छ ।

शान्ति सम्झौतापछि प्रतिक्रियावादी राज्यसत्ताको पुरानो संविधान खारेज भयो । र, हामीले जनयुद्धकालमा लागु गरेको जनवादी संविधान र त्यसका सत्ताहरु पनि अन्त्य गरियो । सङ्क्रमणकालमा दुवै पक्षलाई मान्य हुने सत्ताको अभ्यास गर्ने सम्झौता भएको हो । तर, पुरानो सत्तामा रहेकाहरुले बेइमानी गरे। स्थानीय सत्ताहरु सहमतिमै निर्माण गर्नुपर्दथ्यो । त्यसो हुन दिइएन । त्यसकारण एकपक्षीय रुपमा हाम्रा स्थानीय सत्ताहरु अन्त्य गर्दा बहुसङ्ख्यक स्थानीय तहका जनता फेरि शोषण–उत्पीडनमा परेका छन् ।

परम्परागत सामन्त सुदखोरहरुको उत्पीडन कायम भएको छ । हिजोकै स्वरुपमा निरन्तरता दिन नसके पनि भिन्न ढङ्गले स्थानीय तहमा जनताको सत्ताको अभ्यास गरिनुपर्छ । सकभर शान्तिसम्झौता अनुरुप गर्नुपर्छ । त्यसोहुँदैन भने जनताले फेरि सङ्घर्षमार्फत् स्थानीय सत्ताका नयाँ रुपहरु खोजेर अगाडि बढ्ने निश्चित छ ।हाम्रोजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा गृहयुद्ध र राष्ट्रिय युद्धको संयोजनबाट नै क्रान्ति अगाडि बढ्छ । मूल रुपमा हामी आजसम्म गृहयुद्ध अथवा जनयुद्धबाट यहाँसम्म आएका हौं । क्रान्ति विजयको नजिक पुग्दा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको सम्भावना पनि हुन्छ । त्यतिबेला क्रान्तिले राष्ट्रिय युद्धको रुप लिन सक्छ । त्यसलाई मध्यनजर गर्दै हामीले गृहयुद्ध र राष्ट्रिय युद्ध दुवैको निम्ति तयारी गर्नुपर्छ र दुवैको संयोजनबाट अगाडि बढ्नुपर्छ ।

रणनीतिक रुपमा हामीले सामन्तवाद र साम्राज्यवादका सबै रुपहरुको अन्त्य गरेर जनवादी क्रान्तिको
कार्यभारलाई पूरा गर्नुपर्छ । हामी नेपाली विशेषतामा मौलिक ढङ्गको क्रान्ति सम्पन्न गर्ने कोसिस गरिरहेका छौं । त्यो नै हाम्रो क्रान्तिको मूल कार्यदिशा हो । जनयुद्ध र जनआन्दोलन वा सशस्त्र जनविद्रोहको संयोजनबाट अगाडि बढ्ने कोसिस गरिरहेका छौं । तर, त्यो विभिन्न परिस्थितिमा शक्तिसन्तुलनअनुसार अगाडि बढ्छ । यद्यपि आम रुपमा क्रान्तिको जुन सार्वभौम नियम छन्, त्यो नेपालको सन्दर्भमा पनि लागु हुन्छ । र, हुँदै आएको छ ।

हाम्रो पार्टीले जनयुद्धको जगमा टेकेर नै शान्ति र संविधान निर्माणको प्रयत्न गरेको छ । जनयुद्धकै जगमा टेकेर जनवादी क्रान्तिलाई पूर्णता दिनुपर्छ । यसमा सकभर शान्तिपूर्ण विधि अपनाइनेछ । तर, प्रतिक्रियावादी शक्तिले अवरोध गरेको खण्डमा विद्रोहात्मक ढङ्गबाट जानुपर्ने हुन्छ । त्यसलाई लागु गर्ने सन्दर्भमा कतिपय कमीकमजोरीहरु भएका छन् । पार्टी खुला भएपछि थुप्रै विकृति र विसङ्गति पनि आएका छन् । पार्टीको क्रान्तिकारी चरित्रमा ठूलो ह्रास आएको छ । नैतिक मूल्यमान्यतामा गम्भीर प्रश्नहरु उठेका छन् । पार्टी र नेतृत्वको कार्यशैलीमा पनि प्रश्न उठेका छन् । सबै कमजोरीहरुलाई सच्याउँदै महान् सर्वहारावादी स्पिरिटमा समग्र पार्टी र नेतृत्वलाई रुपान्तरण गरेर मात्र क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ भन्ने कुरामा हामी गम्भीर छौं ।

जनताको सङ्घीय गणतन्त्र प्राप्त गर्न संयुक्त मोर्चाको आवश्कयता पर्छ । माक्र्स, एङ्गेल्स, लेनिन र माओका पालादेखि पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका तीन जादुगरी हतियार भनिएको छ । मूलतः सर्वहारावर्गले क्रान्तिको नेतृत्व गर्छ, जसमा किसान, निम्नपुँजीपति, राष्ट्रिय पुँजीपति वर्ग र सामन्तवाद–साम्राज्यवादविरोधी शक्तिहरुको संयुक्त मोर्चा बनाउनुपर्छ । त्यसरी मात्र २१औं शताब्दीको क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ । संयुक्त मोर्चाको दायरा फराकिलो बनाउनुपर्छ । त्यसरी क्रान्ति सहज र छिटो हुने सम्भावना रहन्छ । पार्टीले यसबारे विशेष ध्यान दिने निर्णय गरेको छ।

समग्रमा, नेपालमा मौलिक ढंगले जनताको संघीय गणतन्त्रको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि वढ्नुको कुनै विकल्प छैन ।

Leave a Reply