मनासलु हिमालको फेदीमा महोत्सव गरिदै

राजेन्द्र न्यौपाने
माघ २४ गोरखा । पर्यटन वर्ष २०११ लाई सफल पार्न र गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उदेश्यले मे ९ देखि ११ सम्म मनासलु हिमालको फेदीमा महोत्सव गर्न लागिएको छ । मनासलु आरोहण दिवशको अवसर परेर महोत्सवको आयोजना गरिएको नुब्री साँस्कृति युवा उत्थान समितिले जानकारी दिएको छ ।

यसअघि ५४ वटा आरोहण दिवश गोरखा र काठमाण्डौमा मनाईएको थियो । समितिका अध्यक्ष समेत रहनुभएका लाक्पा डुण्डुप लामाले हिमालको फेदीमा महोत्सवको आयोजना पहिलो पटक गरिएको बताउनुभयो ।  उत्तरी गोरखाका मानिसहरूको जीवनस्तर वृद्धिको एकमात्र उपाय पर्यटन विकास रहेकोले त्यसको विकास नै महोत्सव भएको उहाँले दावी गर्नुभयो । काठ र जडिबुटि सकिएको अवस्थामा त्यसक्षेत्रका मानिसहरूको जीविकोपार्जन पर्यटन व्यवसायबाट मात्र हुने उहाँले बताउनुभयो ।

सरकारले मनासलु क्षेत्र पर्यटहरूका लागि खुल्ला गरेपछि त्यस क्षेत्रमा आउने पर्यटकको संख्यामा बृद्धि भएको स्थानीय दार्जे ठकुरीले जानकारी गराउनुभयो । यसअघि मनासलु क्षेत्रमा जान तीन ठाउँमा शुल्क तिुर्न पर्दथ्यो । स्थानीय पर्यटन व्यवसायी र संघ संस्थाहरूले पर्यटन मन्त्री र एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलका नेताहरूलाई भेटेर मनासलु क्षेत्र फुकुवाका लागि पहल गरेका थिए ।
       
समूहगत रूपमा मात्र जान पाईने मनासलु अव निश्चित शुल्क तिरेपछि एक्लै पनि जान सकिने भएको पर्यटन मन्त्रालयले बताएको छ । यस अघि सुरक्षाको कारण देखाउँदै सो क्षेत्र बन्द गरिएको थियो । पर्यटन मन्त्री शरदसिंह भण्डारीले मन्त्री परिशद् निर्णयले सो क्षेत्र फुकुवा गरेको एक महिना अघि जानकारी गराउनुभएको थियो ।
       
प्रतिबन्दित हुँदा गत वर्ष दुई हजार पर्यटक मनासलु क्षेत्रमा आएका थिए । यो वर्ष १० हजार भन्दा बढी आउने अनुमान पर्यटन व्यवसायीहरूले गरेका छन्।   नुव्री, टान र पर्वतारोहण संघले मनासलु फुकुवा गरेकामा स्वागत समेत गरेको छ । पर्यटकको संख्या वृद्धि हुने आशाले स्थानीयवासीहरूमा खुशी छाएको छ । आन्तरिक र वाह्य पर्यटक स्वागतका लागि उनीहरू आतुर रहेका छन् । 

Leave a Reply