साउन २६ इलाम ।इलाम नगरपालिका कार्यालयले पर्यटकको गन्तव्य बनाउन इलाम चिया बगानको बिचमा रेलिङ्ग बनाउने काम सम्पन्न गरेको छ । इलाम भ्रमणका लागि आउने पर्यटकलाई नेपालको सबैभन्दा पुरानो चिया कारखाना र बगान भ्रमणका लागि सहज बनाउन रेलिङ्ग निर्माणको काम सम्पन्न गरिएको हो ।
इलाम नगरपालिका र स्थानिय विकास मन्त्रालयको जगेडा कोषको लगानीमा चिया बगानमा रेलिङ्ग निर्माणको काम सम्पन्न गरिएको इलाम नगरपालिकाका इञ्जिनियर मेघनाथ ढुङ्गानाले बताउनुभयो । ३७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको चिया बगानको रेलिङ्ग ५ सय मिटर रहेको छ । रेलिङ्गभित्र रहेको पक्की बाटोमा तीनसय ३० वटा सिँढीहरु रहेका छन् ।
चिया बगानको भ्रमणसँगै पानी ट्याङ्कीमा रहेको इलाम भ्यु टावरसम्म उक्लिने सिंढीयुक्त बाटोका दुबै क्षेत्रमा बनाइएका ती फलामे रेलिङ्ग निकै आकर्षक देखिन्छन् ।
