निष्ठुरीले छोडेर गइहाली
हेर्दाहेर्दै अर्काकी भइहाली
एक्लो पारेर माया मारेर...
एक जमाना यो गीत खुबै हिट भएको थियो। काली प्रसाद रिजालको शब्द रहेको उक्त गीत गायक यम बरालले करिब १० वर्ष अघि गाएका हुन्। त्यो बेला आफैले गाएको गीत आफैमाथि मेल खान जाला भन्ने उनलाई के थाहा? अन्ततः उक्त गीत अहिले बरालको जीवनमा चरितार्थ भएको छ।
केही दिन अघि मात्र गायक बराल र उनकी धर्मपत्नी आकृति राणा बरालको कानुनी रुपमै सम्बन्धविच्छेद भएको छ। गायक बरालको आठ वर्ष लामो दाम्पत्य जीवन गत कात्तिक ८ गतदेखि कहिल्यै नजोडिने गरी आकृतिसँग टुटेको हो। आकृति अहिलेसम्म अर्काकी त भइसकेकी छैनन्, तर चाँडै नै अर्काकी हुनलागेको चर्चा छ।
'बादलुको घुम्टोले इलाम बजार छोपिँदा...' गीतमार्फत करिब दुई दशकअघि गायनमा प्रवेश गरेका गायक बराल र आकृतिबीचको सम्बन्ध टुटेपछि अहिले यस्तै चर्चा चल्न थालेको छ। इलामको फिक्कलमा जन्मिएका गायक यम बराल र ललितपुरस्थित कुपण्डोलकी आकृति २०६० सालमा दाम्पत्य सम्बन्धमा बाँधिएका हुन्। सो सम्बन्ध तिहारको लगत्तै कानुनी रुपमा विच्छेद भएको छ।
अब उनीहरूबीच कुनै सम्बन्ध छैन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासमा बराल दाम्पतीको सम्बन्धविच्छेद कायम हुनेगरी मिलापत्र भएको छ। सम्बन्धविच्छेद मुद्दाको छिनोफानोका लागि आकृति र बराल दुवै जना अदालत पुगेका थिए।
आफ्नो विवाह भोजमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराएर चर्चा पाएका बरालको सम्बन्धविच्छेदको कुरा भने खासै बाहिर आएको छैन। उनले आफ्ना नजिकका साथीहरूलाई समेत श्रीमतीसँग सम्बन्ध टुटेको कुरा सुनाएका छैनन्। अदालतमा समेत उनी सुटेक्कै पुगेका थिए। अन्य कलाकारको सम्बन्धविच्छेद हुँदा खुबै हल्लाखल्ला हुन्थ्यो। तर बरालको सम्बन्छविच्छेदले त्यो चर्चा पाएन। उनी अदालतमा समेत नचिन्नेगरी माक्स लगाएर उपस्थित भएका थिए। त्यसैले सुरुमा यम बराल गायक बराल हो कि अरु नै बराल हो भनेर अदालतका कर्मचारी समेत अल्मलिएका थिए।
करिब एक वर्षयता बराल र आकृतिबीच सम्बन्ध बिग्रिएको थियो। केटी भनेपछि हुरुक्कै हुने बरालको बानी र अन्य पुरुषसँग आकृतिको सम्बन्ध रहेको बरालको आशंका तथा उपशंकाले उनीहरूबीचमा फाटो आएको स्रोतको भनाई छ। अन्नतः उनीहरूको आपसी तनाव सम्बन्धविच्छेद नै भएर टुंगिएको छ।
केही वर्ष यता अमेरिका बस्दै आएका गायक बराल दसंै मनाउन काठमाडौं फकिर्एका हुन्। तर उनको दसैं श्रीमतीका कारण तनाबै तनाबमा बितेको थियो। श्रीमान स्वदेश फर्किएलगत्तै ३० असोजमा आकृतिले सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि बराल पिरोलोमा परेका थिए। उनले तिहारसमेत राम्ररी मनाउन पाएनन्।
मुद्दाको छिनोफानोका लागि काठमाडौं जिल्ला अदालत पुगेका गायक बरालले आफ्नो र आकृतिबीचको दाम्पत्य जीवनविच्छेद हुनेगरी मिलापत्र गरेका छन्। आकृति र बरालका ५ वर्षीय छोरा आरोग्य छन्। छोरा कसले पाल्ने भन्ने प्रसंगमा छोरा नाबालक रहेकाले आमासँगै रहनु पर्ने सम्झौता अदालतले गरिदिएको छ। तर अहिलेसम्म आरोग्य बाबु बरालसँगै छन्। सो अदालतको सम्झौतापत्रमा श्रीमतीलाई घर समेत दिने जनाएका छन्।
विवाहलगत्तै गायक बरालले भैंसेपाटीमा घर बनाएर बस्दै आएका थिए। तर सो उनको घर केही समयअघि एक बैंकले लिलामी गरिसकेको छ। पहिलो पटक अमेरिका जाँदा बैंकमा धरौटी राखेको रकम नतिरेपछि बैंकले उनको घर लिलामी गरेको बताइन्छ। त्यसैले उनले अदालतमा सम्बन्धविच्छेदको मिलापत्रमा आफ्नो घर र सम्पत्ति दिने आकृतिप्रतिको आश्वासन आश्वासनमै सिमित हुने देखिन्छ।
ग्रीनकार्ड लिएर अमेरिकामै बस्दै आएका बरालले केही वर्ष अघि कुपण्डोलमा आफ्नो छोराको नाममा आरोग्य ज्वलर्स खोलेका थिए। तर त्यो ज्वलैर्स पनि केही समय अघि नै बिक्री गरिसकेको स्रोतको भनाई छ। स्रोतका अनुसार आकृतिलाई झुक्याएर बराल अमेरिका जाने मनसायमा छन्। उनी डिसेम्बर २७ मा अमेरिका जाँदैछन्। तर त्यो समयभन्दा अगाडि आकृतिलाई कबोलेको सम्पति दिन बरालले नसक्ने बताइन्छ।
स्रोतका अनुसार आकृतिको अर्कै पुरुषसँग अहिले अफियर चलिरहेको छ। एक व्यापारीसँग अफियर चलिरहेको बताउँदै स्रोतले भन्यो, 'उनीहरूबीच विवाह गर्नेसम्मको कुरा भइरहेको छ।' गायक बराल अमेरिकामा छँदा आकृतिले यहाँ ति पुरुषसँग सम्बन्ध बढाएकी हुन्। 'उनीहरू चाँडै विवाह समेत गर्न सक्छन्' स्रोतले भन्यो।
