कार्तिक २६ इलाम । पहाड र तराइको संगमस्थलको रूपमा रहेको चपेटीको सम्वर्द्धन र प्रबर्द्धन गर्न सकिएमा यो क्षेत्र एउटा नयाँ पर्यटकीय क्षेत्र बन्ने सम्भावना रहेपनि यसमा कसैको ध्यान जान सकेको छैन ।इलामको बाँझो २ मा पर्ने चपेटी र इलामको चुलाचुली जोड्ने रतुवा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि यो क्षेत्र नयाँ पर्यटकीय गन्तब्यका रूपमा चिनिन थालेको छ ।
बाह्रै महिना एकै किसिमको वातावरण रहने चपेटीबाट इलामका सुन्दर डाँडाकाँडा हेर्न सकिन्छ भने धार्मिक पर्यटकीय क्षेत्र लारुम्बालाई पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।
झापाको दमकबाट करिब आठ किलोमिटर उत्तरमा रहेको चपेटीमा अहिले कुनै पनि प्रकारको पुर्वाधार नरहेपनि दमक रबि सडकको ट्रयाक यहाँसम्म खोलिएकाले सहजै ठुला तथा साना सवारी साधनहरु जान सक्छन् ।
चपेटीमा पन्चानब्बे दशमलब पाँच मिटर लम्बाइ रहेको झोलुङ्गे पुल बनेका कारण र बाँझो गाबिसका यहाँ रहेका अग्ला डाँडामा चढेर हेर्दा एकातिर माइखोला र अर्कातिर रतुवा खोलाको बगर देखिने भएकाले यसले पर्यटकलाई लोभ्याउने स्थानीय गणेश चाम्लिङ राई बताउनु हुन्छ ।
तराई र पहाडको संगमस्थल चपेटीमा फाट्टफुट्ट रुपमा बजभोज खाने र रमाइलो गर्न आउन जोडीहरु आउन थालेको र यसको प्रचारप्रसार हुने हो भने नयाँ पर्यटकीय गन्तब्य बन्ने सम्भावना प्रचुर रहेको बताइएको छ ।
झापाबाट यति नजिकैको यस क्षेत्रमा यति लामो झोलुङ्गे पुल यहि नै भएको र यसले यहाँको प्राकृतिक मनोरममा थप सुन्दरता थपेको स्थानीयहरु बताउँछन् ।यो झोलुङ्गे पुलले दमक रबि सडकसँग छोएको छ ।स्थानीय ब्रत सुब्बाका अनुसार यस क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउने भनेर बारम्बार कुरा उठेपनि कुरामा मात्र सिमित रहने गरेको छ ।यस बिषयमा चर्चा परिचर्चा हुने र त्यसै त्यस्ता कुरा सेलाउने गरेकाले अब त यस बिषयमा बोल्न नै छाडेको सुब्बा बताउनु हुन्छ ।
झापाले नदेखेको र इलामले नहेरेको अवस्था रहेकाले यसको बिकासमा कसैको चासो नगएको नेपली काँग्रेस महासमिति सदस्य तथा दमक रबि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाको भनाइ छ ।