मङ्सिर २० काठमाडौँ। संविधानसभाको आजको बैठकले आगामी छ महिनाभित्र अर्थात् आगामी २०६९ जेठ आठदेखि १४ गतेभित्र नयाँ संविधान जारी गर्ने गरी तयार पारिएको संविधानलेखनको कार्यातालिका सर्वसम्मतिले पारित गरेको छ ।
विवाद समाधान उपसमितिले तयार गरेको तेह्रबुँदे कार्यतालिकालाई यसअघि संवैधानिक समितिले त्यसमा सामान्य संशोधन गरी पारित गरेको थियो । समितिले अनुमोदनका लागि संविधानसभामा पठाउने निर्णय गरेको थियो ।
संविधानसभाको बैठकमा सभामुख सुवास नेम्बाङले सो कार्यतालिका प्रस्तुत गर्नुभएको थियो । सो कार्यतालिका कार्यव्यवस्था परामर्श समितिको परामर्शमा संविधानसभाको आजको बैठकमा प्रस्तुत गरिएको हो ।
संविधानसभाले पारित गरेको कार्यतालिकामा राज्यको पुनर्संरचनासँग सम्बन्धित विषय बाहेक अन्य टुङ्गो लाग्न बाँकी सबै विषयमा तीन हप्ता अर्थात् आगामी पुस १५ सम्म सहमति कायम गर्ने भनिएको छ ।
विवाद समाधान उपसमितिले दिएको प्रतिवेदनमाथि संवैधानिक समितिले छलफल गरी निर्णय गर्ने समय पुस २० गतेसम्म तोकिएको छ ।
त्यस्तै विवाद समाधान उपसमिति वा संवैधानिक समितिमा थप छलफलबाट टुङ्गो लाग्न नसकी बाँकी रहेको कुनै विषय भए संवैधानिक समितिका सभापतिले संविधानसभाको अध्यक्षको अनुमति लिएर निर्णयार्थ संविधानसभामा पेस गर्ने र संविधानसभाले निर्णय गरी संवैधानिक समितिमा पठाउने समय पुस २१ देखि २५ गतेसम्म छ ।
राज्यको पुनर्संरचनासँग सम्बन्धित विषय बाहेकका अन्य सबै विषयको पहिलो मस्यौदा तयार गर्ने समय तीन हप्ता अर्थात् पुस २६ देखि माघ १५ सम्म छ ।
राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगलाई दुई महिनाको कार्यावधि पूर्वनिर्धारित गरिएकाले सो आयोगले नेपाल सरकार समक्ष पेस गर्ने प्रतिवेदन सरकारले संविधानसभाका अध्यक्ष समक्ष पेस गर्ने दिन माघ १५ गते तोकिएको छ ।
यसैगरी आयोगको सुझाव समेतको आधारमा राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई अन्तिम रुप प्रदान गर्न माघ १६ देखि मसान्तसम्मको समयवाधि छुट्याइएको छ ।
संवैधानिक समितिले राज्यको पुनर्संरचनासँग सम्बन्धित विषयसमेत समेटेर संविधानसभाको पहिलो मस्यौदा तयार गर्ने कार्य फागुन १ देखि १५ गतेसम्म हुने कार्यतालिकामा उल्लेख छ ।
संवैधानिक समितिका सभपातिले संविधानसभाका अध्यक्षलाई सूचना दिई पहिलो मस्यौदा संविधानसभामा फागुन १५ गते पेस गर्ने व्यवस्थाा मिलाइएको छ ।
प्हिलो मस्यौदामाथि सभामा सैद्धान्तिक छलफल गर्ने, संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको राय र प्रतिक्रिया लिनका लािग राजपत्रमा प्रकाशन गर्ने र जनमत सङ्कलन र समन्वय समितिले तयार पारेको कार्ययोजना फागुन १५ देखि २२ सम्म सभामा पेस गर्ने गरी अनुमोदन गर्ने कार्यतालिकामा उल्लेख छ ।
जनमत सङ्कलन र समन्वय समितिले संविधानको पहिलो मस्यौदा आम जनताको राय सुझाव लिनका लागि प्रचारप्रसार गर्ने र आएका सुझाव फागुन २३ देखि चैत १५ सम्म ग्रहण गर्ने समय मिलाइएको छ ।
सो समितिले जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेस गर्ने, उक्त प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल गर्ने र जनताको राय बमोजिम परिमार्जन गर्न सुझाव र निर्देशन सहित सभाले संवैधानिक समितिमा पठाउने समय चैत १६ देखि मसान्तसम्म तोकिएको छ ।
कार्यतालिकामा संविधानसभाको निर्देशन बमोजिम संवैधानिक समितिले मस्यौदा परिमार्जन गरी संविधानको विधेयक तयार गर्ने र संविधानसभामा पेस गर्ने मिति २०६९ वैशाख १ देखि ७ गतेसम्मलाई तोकिएको छ ।
संविधानको विधेयक सभासद्लाई वितरण गर्ने, सभासद्बाट संशोधन पेस गर्ने, संशोधन सहित सभामा धारागत छलफल गर्ने, सर्वसम्मति हुन नसकेका विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताले सहमतिको प्रयास गर्ने र प्रस्तावना सहित प्रत्येक धारा पारित गर्ने समय आउँदो जेठ ८ देखि १४ गतेसम्म तोकिएको छ ।
संविधानसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।
