औषधिको अभावले इलामका गाविसहरू प्रभावित


मङ्गलबारे (इलाम) मङ्सिर १८ । इलाम जिल्लाको पश्चिमी गाविस आमचोकमा रहेको स्वास्थ्यचौकीमा एक सातादेखि औषधि अभाव भएपछि सेवाग्राही प्रभावित भएका छन् ।
सर्वसाधारणका लागि सरकारले वितरण गर्ने ३५ वटा औषधिसहित बेटाडियन र सिटामोलसमेत अभाव हुँदा पश्चिमका गजुरमुखी, आमचोक, फुएतप्पा, फाकफोक, एकतप्पा, लुम्देलगायतका गाविसका सेवाग्राही प्रभावित भएका हुन् ।

एक साताअघि नै औषधि सकिएर जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको भए पनि कार्यालयले तत्काल औषधि नपठाउँदा समस्या भएको स्वास्थ्यचौकीका अहेव हरिनारायण चौधरीले बताउनुभयो ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक तारानाथ पोखरेलले औषधि अभाव भएको खबर नआएको बताउनुभयो ।
जिल्लाभर रहेका स्वास्थ्यचौकीले मागेजति औषधि पठाउने गरिएको पोखरेलले दाबी गर्नुभयो। अहिले कुनै औषधिको अभाव नभएको र गर्भवती महिलाका लागि आइरन चक्कीमात्र अभाव भएकाले शनिबारदेखि त्यो पनि नयाँ वितरण गरिएको डा.पोखरेलले इलाम दर्पणलार्इ जानकारी दिनुभयो ।

Leave a Reply