हजारभन्दा बढी स्वास्थ्यकर्मीको दरवन्दी खाली






पुस २१  भद्रपुर । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले मुलुकभरिका स्वास्थ्यकेन्द्रमा हजारभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेकाले ऐन संशोधन गरी विज्ञापन गरिने बताउनुभएको छ ।

भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आज स्थलगत निरीक्षण गरेपछि उहाँले सोको जानकारी दिनुभएको हो ।

तीन वर्षदेखि स्वास्थ्यकर्मीका लागि विज्ञापन नभएको बताउँदै मन्त्री महतोले समावेशी ऐन बनाएर विज्ञापन गरिने प्रस्ट पार्नुभयो ।

सो अवसरमा मेची अञ्चल अस्पतालका निमित्त प्रमुख टङ्कप्रसाद बाराकोटीले ५० शैय्याको सो अस्पताललाई १५० शैय्याको बनाउन दुई वर्षअघि सैद्धान्तिक सहमति भइसके पनि कार्यान्वयन नभएकोतर्पm मन्त्री महतोको ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले डेढ वर्षदेखि अस्पताल प्रमुख, जनरल सर्जन, नाक, कान, घाँटीका विशेषज्ञ, एनेस्थेटिस्टा, प्याथोलिजिस्ट, अर्थाेपेडिक्सलगायत नौजना विशेषज्ञको दरबन्दी खाली रहेको, अस्पतालका उपकरणहरू र भवन पनि पुरानो भइसकेको बताउनुभएको थियो ।

यसैबीच, मन्त्री महतोले आजै झापाको खजुरगाछी–८मा निर्माण हुने प्राथमिक स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभयो ।

छ बिघा जग्गामा रु चार करोड ५० लाखको लागतमा केन्द्रको १८ कोठे भवन निर्माण गरिनेछ ।
उक्त जग्गा स्थानीय भीमप्रसाद चौंधरी (राजवंशी)ले प्राथमिक स्वास्थ्य केन्द्रका लागि दान गर्नुभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत महेन्द्र चौंधरीले जानकारी गराउनुभयो ।
सो अवसरमा मन्त्री महतोले तोकिएको समयमै संविधान निर्माण हुने बताउनुभयो ।

उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्तिको सन्तानका लागि पनि नागरिकताको व्यवस्था हुने बताउनुभयो ।

Leave a Reply