बम राखेको अभियोगमा तीनजना पक्राउ

भद्रपुर, २४ पुस । झापाको विर्तामोडमा बम राखेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउमा पर्नेहरूमा झापाको कुमरखोद–१ बस्ने तेजबहादुर लिम्बू, मोरङको बेलबारी–२ बस्ने २८ वर्षीय राजबहादुर गुरुङ र पाँचथर घर भई हाल विर्तामोड–३ मा डेरा गरी बस्ने ३९ वर्षीय सूर्यबहादुर याङ्यालाई गएराति विर्तामोडबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

विर्तामोड–३ स्थित विर्ता एफएमको अगाडि बियरको बोतलमा बालुवा र ज्वलनशील पदार्थ भरेर त्यसमा डेनाटर तार जोडिएको अवस्थामा शनिबार साँझ फेला परेको थियो ।

सो स्थानमा एउटा पेस्तोल र किराँत वकर्स पार्टीको विज्ञप्ति राखिएको प्रहरी निरीक्षक छविरमण भट्टराईले जानकारी दिनुभयो ।

उक्त बमलाई आज बिहान ८ः१५ बजे चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।


Leave a Reply