बिर्तामोड, २५ पुस । मकर सङ्क्रान्ति पर्व नजकिँदै जाँदा तिलको मूल्य बढ्न थालेको छ ।
सो पर्वको अवसरमा अनिवार्यरूपमा तिलका लड्डु बनाउने गरिएकाले यसको माग अत्यधिक हुन थालेपछि मूल्यमा वृद्धि भएको हो ।
सामान्यतया प्रतिकिलो रु १५० मा विक्री हुने गरेको सेतो तिल यतिखेर प्रतिकिलो रु २२५ प्रतिकिलोमा विक्री भइरहेको पाइएको छ ।
कालो तिलमा स–साना ढुङ्गाको मिसावट अत्यधिक हुने गरेको र यसको बोक्रा हटाउनमा बढी मेहनत गर्नुपर्ने भएकाले उपभोक्ता बढी सेतो तिलतर्फ आकर्षित हुन थालेको कारणले पनि यसको मूल्य वृद्धिमा सघाएको देखिन्छ ।
झापा जिल्लामा तिलको खेती नगन्यरूपमा हुनेगरेको र अन्यत्रबाट खरिद गरेर बेच्नु परेको कारणले मूल्यमा वृद्धि भएको व्यापारी बताउँछन् ।
तिलका साथै शख्खर पनि महँगो हुन थालेको छ । झापाको बजारमा रु ८५ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।